सीएपीको नाम्ची जिल्ला कार्यकारी परिषदको समन्वय बैठक सम्पन्न
सीएपीको बैठक


गान्तोक, 08 जुलाई (हि.स.)

सिटिजन एक्शन पार्टी (सीएपी) सिक्किमको नाम्ची जिल्ला कार्यकारी परिषदको समन्वय बैठक आज नाम्ची बजारस्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न भयो। बैठकको अध्यक्षता पार्टी अध्यक्ष गणेश कुमार राईले गरेको थियो।

बैठकमा नाम्ची जिल्लासँग सम्बन्धित विभिन्न संगठनात्मक तथा जनसरोकारका विषयमा विस्तृत छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। विशेष रूपमा पार्टी संगठनलाई तल्लो तहसम्म अझ सुदृढ़ बनाउने, विभिन्न संगठनात्मक निकायबीच समन्वय बढाउने तथा आगामी पार्टी कार्यक्रमहरूको तयारीलाई तीव्र बनाउने विषयमा जोड दिइयो।

बैठकका क्रममा लेडा भोटियाले पार्टी अध्यक्ष राई तथा वरिष्ठ नेताहरूको उपस्थितिमा औपचारिक रूपमा सीएपीमा प्रवेश गरेको बताइएको छ। उनको आगमनले नाम्ची जिल्लामा पार्टीको जनसम्पर्क तथा संगठन विस्तार अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ। बैठकमा संशोधित मस्यौदा मतदाता नामावली सबै एसीईसी अध्यक्षहरूलाई वितरण गरिएको थियो।

पार्टी अध्यक्ष राईले आफ्नो सम्बोधनमा मस्यौदा मतदाता नामावलीको महत्त्वबारे प्रकाश पार्दै सबै पार्टी पदाधिकारीलाई नामावलीको गहन अध्ययन गर्न, आवश्यक परेका योग्य मतदातालाई सहयोग गर्न तथा मतदाता नामावली पुनरीक्षण प्रक्रियामा जनचेतना फैलाउनका साथै जनसहभागिता बढाउन आग्रह गरे।

कार्यक्रममा जिल्ला अध्यक्ष तथा उपाध्यक्ष (प्रभारी) डीबी स्टेफेन गुरुङ, उपाध्यक्ष किरण जिम्बा, ओङ्देन छिरिङ लेप्चा, सल्लाहकार बिमल खरेल, उपाध्यक्ष (ठेकेदार परिषद्) अशोक राई, महिला परिषद् (नाम्ची) की अध्यक्ष हेलेन राई र नाम्ची जिल्लाका पार्टीका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande