सोरेङमा राष्ट्रियस्तरीय भानु जयन्ती समारोह जारी, लोकनृत्य प्रतियोगिता सम्पन्न
सोरेङमा राष्ट्रियस्तरीय भानु जयन्ती समारोह जारी


सोरेङ, 08 जुलाई (हि.स.)। सोरेङमा जारी २१२औँ राष्ट्रियस्तरीय भानु जयन्ती २०२६ समारोह अन्तर्गत आज भव्य रूपमा लोकनृत्य प्रतियोगिता सम्पन्न भयो। कार्यक्रम सोरेङको मलबाँसेस्थित अभियान्त्रिकी परिसर (डाक बङ्गला) मा भइरहेको छ।

कार्यक्रममा सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा मुख्य अतिथि थिए भने क्षेत्र विधायक आदित्य गोले र सालघारी जुम निर्वाचन क्षेत्रका विधायक मदन सेन्चुरी विशिष्ट अतिथिका रूपमा सहभागी बने।

लोकनृत्य प्रतियोगिता उच्चतर माध्यमिक विद्यालय, माध्यमिक विद्यालय तथा निम्न माध्यमिक विद्यालय गरी तीन तहमा आयोजना गरिएको थियो। प्रतियोगितामा जिल्लाभरिका ११ वटा उच्चतर माध्यमिक विद्यालय, १० वटा माध्यमिक विद्यालय तथा १० वटा निम्न माध्यमिक विद्यालयले उत्साहपूर्वक सहभागिता जनाए।

प्रतियोगिताको निर्णायक मण्डलमा नाम्चीस्थित स्टेप डान्स सेन्सेसन एकेडेमीकी निर्देशक सुष्मा छेत्री, डाइनामिक फ्लिकर्स डान्स एकेडेमीकी निर्देशक दिलु तामाङ तथा गान्तोकस्थित तापश्री डान्स एकेडेमीकी निर्देशक कोमल गुरुङ उपस्थित थिए।

उच्चतर माध्यमिक विद्यालय वर्गमा पीएमश्री सरकारी वरिष्ठ माध्यमिक विद्यालय, सोरेङ प्रथम, सरकारी उच्चतर माध्यमिक विद्यालय, कलुक द्वितीय तथा सरकारी उच्चतर माध्यमिक विद्यालय, सोम्बारिया तृतीय स्थान प्राप्त गर्न सफल भए।

माध्यमिक विद्यालय वर्गमा सरकारी माध्यमिक विद्यालय, पाक्कीगाउँ प्रथम, सरकारी माध्यमिक विद्यालय, माङसारी द्वितीय तथा सरकारी माध्यमिक विद्यालय, तिम्बुरबोङ तृतीय स्थानमा रहे।

त्यसैगरी, निम्न माध्यमिक विद्यालय वर्गमा सरकारी निम्न माध्यमिक विद्यालय, बोजेक प्रथम, मोडेल इङ्ग्लिस स्कूल, सोम्बारिया द्वितीय तथा सरकारी निम्न माध्यमिक विद्यालय, बिरधाङ तृतीय स्थानमा रहे।

प्रतियोगितामा सहभागी सबै विद्यालयलाई सहभागिताको प्रमाणपत्र प्रदान गरियो। कार्यक्रममा आईटीएसका उपाध्यक्ष सीपी शर्मा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, जिल्ला पञ्चायत सदस्यहरू, ग्राम पञ्चायत सदस्यहरू, सिक्किम राज्य ब्याङ्कका अध्यक्ष डीबी गुरुङ, जनजाति कल्याण बोर्डका अध्यक्ष पीके सुब्बा आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande