
पाकिम, 09 जुलाई (हि.स.)। कृषि, बागवानी, पशुपालन तथा पशुचिकित्सा सेवा एवं मत्स्य विकास विभागका मन्त्री तथा छुजाचेन निर्वाचन क्षेत्रका विधायक पुरनकुमार गुरुङले आज निरन्तर वर्षाका कारण क्षति पुगेको छलमथाङ-लोअर तारेथाङ प्रधानमन्त्री ग्राम सडक योजनाको निरीक्षण गरेका छन्।
वर्षा र नदी कटानका कारण छलमथाङदेखि लोअर तारेथाङसम्मको पीएमजीएसवाई सडकमा भएको क्षतिको अवस्थाको मूल्याङ्कन गर्न निरीक्षण गरिएको थियो। उक्त सडकले तारेथाङ र बिरिङ बस्तीलाई आवागमन सुविधा उपलब्ध गराउँदै आएको छ। निरीक्षणका क्रममा क्षतिग्रस्त सडक खण्डहरूको पहिचान गर्नुका साथै पुनःस्थापनाका आवश्यक उपायबारे समीक्षा गरिएको थियो। निरीक्षणका क्रममा मन्त्री गुरुङले सम्बन्धित विभागलाई तत्काल जनशक्ति तथा आवश्यक मेसिनरी परिचालन गरी सडकमा पैह्रोका कारण थुप्रो लागेको माटो हटाई अस्थायी रूपमा यातायात सञ्चालन पुनःस्थापना गर्न निर्देशन दिए। साथै, हलुका सवारीसाधन सञ्चालन सहज बनाउन सडक सफा गर्ने कार्य सम्पन्न भएपछि ढुङ्गा बिछ्याउने तथा मिक्स्ड फिलिङ गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।
मन्त्रीले नदी किनारतर्फ प्रोटेक्टिभ फेन्सिङ निर्माणको कार्य मनसुन समाप्त भएपछि मात्रै गरिने जानकारी दिए। हाल नदीको जलस्तर उच्च रहेकाले यस्तो निर्माण कार्य सञ्चालन गर्न सुरक्षित नरहेको उनले बताए।
स्थानीयवासीहरूसँगको छलफलका क्रममा लोअर तारेथाङका बासिन्दाहरूले मन्त्री तथा सम्बन्धित विभागलाई क्षतिग्रस्त सडकको स्थायी पुनःनिर्माण यथाशीघ्र सम्पन्न गरी सुरक्षित र अविरल आवागमन सुनिश्चित गर्न आग्रह गरेका थिए।
स्थानीयवासीहरूले मन्त्री तथा निरीक्षण टोलीले तत्काल चासो देखाएको र आवश्यक सुधारात्मक उपाय अपनाउने प्रतिबद्धता जनाएकोमा आभार व्यक्त गरेकाे बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल