सीड सेलद्वारा सोरेङमा सरकारी योजनाबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न
Awareness programme by seed cell


सोरेङ, 09 जुलाई (हि.स.)। सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागअन्तर्गत जिल्ला उद्योग केन्द्र, सोरेङको सहकार्यमा सिक्किम उद्यमशीलता तथा आर्थिक विकास (सीड) सेलले आज सोरेङ जिल्लाको बुढियाखोप जीपीके हलमा राज्य तथा केन्द्र सरकारका विभिन्न योजनासम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमको उद्देश्य बेरोजगार युवा, उद्यमी बन्न इच्छुक व्यक्ति तथा व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरूलाई उद्यमशीलता, वित्तीय सहायता तथा व्यवसाय विकाससम्बन्धी विभिन्न सरकारी योजनाबारे जानकारी गराउनु थियो।

कार्यक्रममा सीड सेलका संगठन सचिव टाशी ओङदुप लेप्चाले सहभागीहरूलाई सरकारी योजनाको अधिकतम उपयोग गर्न, नवीन सोच अपनाउन तथा सिक्किमको उद्यमशीलता विकासमा सक्रिय योगदान पुर्‍याउन आग्रह गरे। यसरी नै सोरेङ जिल्ला उद्योग केन्द्र (डीआईसी) का निरीक्षक सत्यम् राईले विभिन्न केन्द्रिय योजनाहरूको बारेमा जानकारीमूलक प्रस्तुति दिएका थिए। उनले व्यवसाय दर्ता, वित्तीय सहायता तथा संस्थागत सहयोग प्राप्त गर्ने प्रक्रियाबारे पनि विस्तृत जानकारी गराए।

त्यसपश्चात् क्रेडिट आउटरीच एन्ड फेसिलिटेसन युनिटकी वरिष्ठ कार्यक्रम अधिकृत तथा स्रोत व्यक्ति हेममाला राईले वित्तीय साक्षरतासम्बन्धी सत्र सञ्चालन गर्दै वित्तीय योजना, जिम्मेवार आर्थिक व्यवस्थापन तथा बचतका व्यवहारिक पक्षबारे जानकारी दिइन्। प्रस्तुतीकरणपछि सहभागीहरूसँग अन्तरक्रियात्मक प्रश्नोत्तर कार्यक्रम पनि सञ्चालन गरिएको थियो।

कार्यक्रमको समापन मुख्य अतिथि पञ्चायत अध्यक्ष मञ्जना गुरुङको सम्बोधनसँगै भएको थियो। कार्यक्रममा बुढियाखोप जीपीयूका पञ्चायत सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande