
खरसाङ, 09 जुलाई (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सांगठनिक सभा आज स्थानीय पार्टी कार्यालयमा खरसाङ महकुमा समितिका सभापति प्रणाम रसाइलीको अध्यक्षतामा सम्पन्न भयो। सभामा केन्द्रिय समिति, खरसाङ महकुमा समिति, महकुमा समिति अन्तर्गत विभिन्न समष्टिका प्रतिनिधिहरू, पूर्व सभासदहरु, पूर्व पञ्चायत प्रधानहरु उपस्थित रहेका थिए।
सभाध्यक्ष एवं खरसाङ महकुमा समितिका सभापति प्रणाम रसाइलीले आफ्नो सम्बोधनमा पार्टीको सांगठनिक गतिविधि र पार्टीको भावी कार्यहरुबारे जानकारी गराए। उनले पार्टीमा एक व्यक्ति एक पद विषयमा जोड दिॅंदै यस विषयमा काम गर्नु पर्ने बताए। रसाइलीले भने, 'हाम्रो जातीय मागको लागि सबै राजनीतिक पार्टीहरु एकबद्ध हुनुपर्छ। अबको समय जनताको लागि काम गर्ने हो। जनताका विभिन्न समस्याहरुलाई समाधान गर्न काम गर्न आवश्यक छ।'
सभामा खरसाङ महकुमा समितिमा र विभिन्न समष्टिहरुमा चयन गरिएका नयाँ पदाधिकारीहरुलाई महकुमा समितिको तर्फबाट खदार्पण गरेर स्वागत जनाइयो।
सभालाई भागोप्रमो केन्द्रिय सदस्य समीरदीप ब्लोन, खरसाङ महकुमा समितिका सदस्य भक्तिमान तामाङ, महकुमा सदस्य दुर्गा छेत्री, आशा मुखिया लामा, खरसाङ टाउन कमिटीका सचिव बीरबल पाख्रीनले पनि सम्बोधन गरेका थिए।
सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै भागोप्रमो खरसाङ महकुमा समितिका सचिव भक्तिमान तामाङले सभामा खरसाङ महकुमा समिति र समष्टिहरुमा नयाँ पदाधिकारीहरु चयन भएपछि आधिकारिक रूपमा स्वागत जनाइएको बताए। उनले राज्यमा डबल इञ्जिनको सरकार रहेकाले गोर्खाहरुको लामो समयको माग र संवैधानिक अधिकार विषयमा गोर्खाहरु एकबद्ध हुनुपर्ने आह्वान् गरे। उनले अब जनताको आवाज बनेर काम गर्ने भएको बताए।
हिन्दुस्थान समाचार / हनोक