
गान्तोक, 09 जुलाई (हि.स.)। तुमिन लिङ्गी क्षेत्रस्तरीय भानुजयन्ती समारोह समितिले यस वर्षको प्रतिष्ठित ‘क्षेत्रीय साहित्यश्री सम्मान २०२६’ साहित्यकार हेमराज अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको छ। आदिकवि भानुभक्त आचार्यको २१२औँ जयन्तीको पावन अवसरमा नेपाली भाषा तथा साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान गर्ने परम्पराअनुसार समितिले यो निर्णय सार्वजनिक गरेको हो।
समितिका अनुसार, अधिकारीको चर्चित लघुकथा सङ्ग्रह ‘च्यातिएको जुत्ता’ ले नेपाली लघुकथा साहित्यमा उल्लेखनीय योगदान पुर्याएको छ। उक्त कृतिमार्फत समकालीन समाजका यथार्थ, मानवीय संवेदना तथा सामाजिक चेतनालाई प्रभावकारी कलात्मक अभिव्यक्ति दिएकाले उहाँलाई यस वर्षको सम्मानका लागि चयन गरिएको जनाइएको छ।
यो सम्मान आगामी १३ जुलाई, २०२६ सोमबार पूर्व सिक्किमको साम्दोङस्थित सिक्किम सरकारी संस्कृत महाविद्यालयमा आयोजना हुने २१२औँ भानुजयन्ती समारोहका अवसरमा विशेष समारोहबीच तुमिन लिङ्गी क्षेत्रका विधायक एसटी भोटियाको करकमलबाट प्रदान गरिनेछ।
भानुजयन्ती समारोह समितिले यस सम्मानमार्फत नेपाली साहित्यका साधकहरूको सिर्जनात्मक योगदानलाई कदर गर्दै नयाँ पुस्तामा साहित्यप्रति रुचि, सम्मान र सिर्जनात्मक चेतनाको विकासमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।
यस सम्मानले नेपाली साहित्यको क्षेत्रमा हेमराज अधिकारीले पुर्याउँदै आएको निरन्तर साहित्यिक साधना र सिर्जनशील योगदानलाई थप राष्ट्रिय तथा क्षेत्रीय पहिचान दिलाउने अपेक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल