
- विधायक सोनाम लामा र भाजपा जिल्ला अध्यक्ष सञ्जीव लामाले गरे निरीक्षण भ्रमण
खरसाङ, 22 अगस्त (हि.स.)। खरसाङका विधायक सोनाम लामाले भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामासँग शनिवार खरसाङको डाउहिलस्थित प्रेसिडेन्सी कलेजको नवनिर्मित भवनको भ्रमण गरेका छन्। डाउहिल प्रेसिडेन्सी विश्वविद्यालयको तेस्रो क्याम्पस हो र यहाँ चाँडै शैक्षिक सत्र शुरु हुने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा टोलीले क्याम्पसको पूर्वाधार तथा शैक्षिक गतिविधि सञ्चालनका लागि भइरहेको तयारीको जायजा लिएका छन्। विधायक सोनाम लामा तथा भाजपा जिल्ला अध्यक्ष सञ्जीव लामासँगै पीडब्ल्युडीका कार्यकारी अभियन्ता लाडेनला लामा, विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरू, स्थानीय भाजपा मण्डलका सदस्यहरू र भाजपा दार्जिलिङ जिल्ला प्रवक्ता साकल देवान पनि उपस्थित थिए।
यस अवसरमा विधायक सोनाम लामाले खरसाङ तथा दार्जिलिङ पहाडको शैक्षिक विकासमा यस संस्थानको महत्त्वबारे प्रकाश पारेका थिए। डाउहिलमा प्रेसिडेन्सी विश्वविद्यालयको क्याम्पस स्थापना भएपछि पहाडका विद्यार्थीहरूले गुणस्तरीय उच्च शिक्षामा थप पहुँच प्राप्त गर्नुका साथै यस क्षेत्रका विद्यार्थीहरूका लागि नयाँ शैक्षिक अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ।
प्रेसिडेन्सी विश्वविद्यालयको डाउहिल कलेजलाई खरसाङ तथा दार्जिलिङ पहाडको शैक्षिक क्षेत्रका लागि महत्वपूर्ण सम्पत्तिका रूपमा हेरिएको छ। यस नयाँ क्याम्पसले क्षेत्रको उच्च शिक्षा प्रणालीलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
विधायक सोनाम लामालाई हालै उच्च शिक्षा स्थायी समितिको अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ। यस जिम्मेवारीले उच्च शिक्षा तथा शैक्षिक विकाससम्बन्धी विषयहरूमा उनको भूमिकालाई अझ महत्वपूर्ण बनाएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक