
गेजिङ, 22 अगस्त (हि.स.)। आवास तथा भवन र श्रम विभागका मन्त्री एवं याङथाङ क्षेत्रका विधायक भीमहाङ लिम्बूले आज गेजिङ जिल्ला अन्तर्गत नम्बु-सिन्द्राबुङ ग्राम पञ्चायत एकाइ (जीपीयू) को नवनिर्मित ग्राम पञ्चायत केन्द्र (जीपीके)/गाउँ प्रशासन केन्द्र (भीएसी) को उद्घाटन गरे। उद्घाटन कार्यक्रममा ग्रामीण विकास विभागका अध्यक्ष नारायण खतिवडा, सिक्किम ट्राइबल कोअपरेटिभ सोसाइटीका सल्लाहकार डीआर लिम्बू, जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पा आदि उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बूले तल्लो तहको शासन प्रणालीलाई सुदृढ़ बनाउन तथा जनतालाई प्रभावकारी रूपमा सार्वजनिक सेवा उपलब्ध गराउन पञ्चायती राज संस्थानहरूको महत्वपूर्ण भूमिका रहेको बताए। नयाँ भवन निर्माण सम्पन्न भएकोमा जीपीयूका जनतालाई बधाई दिँदै उनले पञ्चायत प्रतिनिधिहरूलाई समुदाय तथा सम्बन्धित विभागसँग समन्वय गरी जनताको आवश्यकता र आकांक्षाप्रति संवेदनशील भएर काम गर्न आह्वान गरे।
उनले ग्राम पञ्चायत केन्द्रमा पञ्चायती राजसम्बन्धी गतिविधि सहज रूपमा सञ्चालन गर्न आवश्यक सुविधाहरू उपलब्ध गराइएको बताए। मन्त्री लिम्बूले पञ्चायत प्रतिनिधि तथा अधिकारीहरूलाई यस सुविधाको प्रभावकारी उपयोग गर्दै समर्पण, इमानदारी र जवाफदेहिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
मन्त्री लिम्बूले पञ्चायत संस्थानहरू प्रशासन र जनताबीचको महत्वपूर्ण सेतुका रूपमा रहेको उल्लेख गर्दै ग्राम पञ्चायत केन्द्रको स्वच्छता तथा गरिमा कायम राख्नुपर्ने र केन्द्र जनताका लागि सहज रूपमा पहुँचयोग्य तथा उत्तरदायी हुनुपर्नेमा जोड दिए।
निर्वाचन क्षेत्रको विकासबारे बोल्दै मन्त्री लिम्बूले ग्राम पञ्चायत केन्द्र स्थापनाको प्रसङ्ग स्मरण गर्दै क्षेत्रको समग्र विकासका लागि सञ्चालन गरिएका विभिन्न विकासमूलक पहलहरूको उल्लेख गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी सोचअनुरूप यी पहलहरू अघि बढाइएको र विकासका लाभ तल्लो तहका जनतासम्म पुर्याउन विशेष जोड दिइएको उनले बताए।
हिन्दुस्थान समाचार / बिशाल