गोर्खाल्याण्डको माग जारी रहनेछ: अनित थापा
Anit thapa


खरसाङ, 22 अगस्त (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) का अध्यक्ष अनित थापाको उपस्थितिमा आज तक्लिङ पेसोक समष्टि अन्तर्गत बडा मङमायामा समष्टिको नयाँ पूर्णाङ्क समिति गठन भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले आफ्नो राजनीतिक यात्रामा आएका उतार चढावको स्मरण गर्दै 2013 र 2017 को आन्दोलनदेखि गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए) चुनाउसम्मको यात्रामाथि प्रकाश पारे। सन् 2017 को 105 दिने आन्दोलनका बेला सर्वसाधारण जनताले भोगेको कठिनाइलाई सम्झँदै त्यही जोखिम उठाएरै विकासको बाटोमा अघि बढेको उनले बताए।

पार्टी छोड्ने नेता-कार्यकर्ताहरूलाई सिधा प्रहार गर्दै थापाले भने, विचारधारा र नैतिकता बिनाको राजनीति टिक्न सक्दैन। उनीहरू सुनको अण्डा पाइन्छ भन्ने आशामा गएका थिए। तर हात रहेको दैनिक अण्डा दिने लोकल कुखुरा नै मारी पठाए।

भाजपासँगको सम्बन्ध र आगामी चुनाउको रणनीतिबारे पनि उनले चर्चा गरे अनि आफ्नो पार्टीले 1 लाख 76 हजार मत एक्लै लडेर पाएको दाबी गरे। गोर्खाल्याण्डको मागलाई पार्टीको मूल एजेन्डा ठहर्याउँदै थापाले भने, यो गोर्खा किपट तुहिन दिनु हुँदैन र यसका लागि केन्द्रिय स्तरसम्म संवाद पुर्याइएको उनले जनाए।

सभामा पार्टीको समष्टिको पूर्णाङ्क कमिटी पुनर्गठन पनि गरियो। थापाले आगामी पञ्चायत चुनाउमा उम्मेदवार छनोटमा पूर्ण समीक्षा गरिने र पार्टी विज्ञापनमुखी नभई कार्यकर्तामुखी हुनुपर्ने धारणा राखेका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande