
गान्तोक, 22 अगस्त (हि.स.)। आर्चरी खेलको प्रवर्द्धन तथा सिक्किमभरिका प्रतिभाशाली खेलाडीहरुलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने उद्देश्यले सिक्किम आर्चरी एसोसिएसनको आयोजनामा प्रथम राज्यपाल आर्चरी गोल्ड कप (कम्पाउन्ड) प्रतियोगिता २०२६ शनिबार गान्तोकको ताथाङचेन आर्चरी मैदानमा शुरु भएको छ। प्रतियोगितामा राज्यभरिबाट कुल १९ टोलीले सहभागिता जनाएका छन्।
प्रतियोगिताको उद्घाटन सिक्किम विधानसभाका अध्यक्ष मिङ्मा नर्बु शेर्पाले गरे। यस अवसरमा मन्त्री तथा सिक्किम आर्चरी एसोसिएसनका अध्यक्ष सोनाम लामासहित विधायक तेन्जिङ नर्बु लाम्था, ताथाङचेनका पार्षद ल्हासे डोमा, राजकुमार पाल्देन ग्युरमेद नामग्याल, मुख्यमन्त्रीका सल्लाहकार कुङ्गा निमा लेप्चा तथा अन्यहरू उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किम आर्चरी एसोसिएसनका अध्यक्ष तथा मन्त्री सोनाम लामाले प्रथम राज्यपाल आर्चरी गोल्ड कप सिक्किममा तीरन्दाजी तथा खेलकुद विकासलाई थप सुदृढ़ बनाउने दिशामा महत्वपूर्ण कदम रहेको बताए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको सहयोग तथा मार्गदर्शनप्रति आभार व्यक्त गर्दै एसोसिएसनले विभिन्न तीरन्दाजी प्रतियोगिता आयोजना गर्दै आएको बताए।
उनले यस प्रतियोगिताका विजेतालाई ५ लाख रुपियाँ र उपविजेतालाई ३ लाख रुपियाँ पुरस्कार राशि प्रदान गरिने बताए। मन्त्री लामाले युवा प्रतिभाको पहिचान र विकासका लागि तीरन्दाजी प्रतियोगिता राज्यका सबै जिल्लामा विस्तार गर्ने एसोसिएसनको प्रतिबद्धता व्यक्त गरे। खेलकुदले युवालाई सकारात्मक अवसर प्रदान गर्नुका साथै लागुऔषध दुरुपयोग तथा अन्य नकारात्मक प्रभावबाट टाढा राख्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
रिनाकका तीरन्दाज सोनाम भोटिया तथा नाम्चीका अन्तरराष्ट्रिय तीरन्दाज तरुणदीप राईको उपलब्धिको उदाहरण दिँदै उनले युवा खेलाडीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राख्न आह्वान गरे। सरकारले खेलकुद पूर्वाधारमा गरिरहेको लगानीबारे उल्लेख गर्दै उनले भविष्यमा सिक्किममा समर्पित तीरन्दाजी एकेडेमी स्थापना हुने आशा व्यक्त गरे।
प्रतियोगितामा राज्यका विभिन्न जिल्लाका आर्चरी क्लब तथा टोलीहरूको सहभागिता रहेको छ। १९ टोलीबीच राज्यपाल गोल्ड कपका लागि नकआउट प्रणालीमा प्रतिस्पर्धा भइरहेको छ। टोलीहरूले क्रमिक चरणका खेलहरू पार गर्दै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
हिन्दुस्थान समाचार / बिशाल