
गान्तोक, 22 अगस्त (हि.स.)। अन्तरराष्ट्रिय सीमाना र हिमाली दुर्गम ठाउँ भएर के भयो त। सामाजिक सञ्जालको सुविधा कम्ती हुँदा पनि साहित्यिक माहोल र पुस्तकको साथ गाउँलाई पुगोस् भन्ने ध्येय बोकेर ‘चिया कविता सिक्किम’ ले 13,066 फिटको हिमाली गाउँ कुपुपमा पुस्तकालय शुरु गऱ्यो।
पूर्व सिक्किमको पाकिम जिल्लामा पर्ने भारत-चीन सीमा क्षेत्रनजिकै अवस्थित हिमाली गाउँ कुपुक छ। लगभग चार सयभन्दा धेरै मतदाता भएको हिमाली गाउँमा सिक्किमका माटो कवि जीवन थिङको नाममा सार्वजनिक खुल्ला पुस्तकालय स्थापना गरिएको छ।
‘चिया कविता सिक्किम’ को पहलमा स्थापना गरिएको पुस्तकालयको शनिबार सिक्किम अकादमीका महासचिव पूर्ण योञ्जन मुख्य अतिथि रहेको भव्य कार्यक्रमबीच नाथाङ ग्राम पञ्चायत एकाईका उपाध्यक्ष तथा स्थनीय पञ्चायत मिङ्मा ल्हमु शेर्पा र गाउँ बुढा निमा शेर्पाको उपस्थितिमा लोकार्पण गरियो।
समुद्री सतहबाट करिब 13,066 फिटको उचाइमा रहेको कुपुक गाउँमा स्थापना गरिएको पुस्तकालयलाई स्थानीय नागरिकका साथै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूका लागि पनि उपयोगी हुने विश्वास गरिएको छ।
भारत सरकारले चोला र डोकलाम क्षेत्रलाई रणभूमि पर्यटनका लागि खुल्ला गरेसँगै कुपुक गाउँ पर्यटन गतिविधिको आधारभूमिका रूपमा विकास हुँदै गएको छ। यस्तो अवस्थामा गाउँमै सार्वजनिक पुस्तकालय स्थापना हुनु स्थानीय समुदाय, विद्यार्थी तथा पर्यटकका लागि दीर्घकालीन रूपमा लाभदायक हुने स्थानीय पञ्चायत तथा नागरिकहरूले बताएका छन्।
चिया कविता सिक्किमले शुरु गरेको पुस्तकालय स्थापनाको पहललाई सिक्किम अकादमी र जनपक्ष प्रकाशनले पुस्तक उपलब्ध गराएर सहयोग गरेका छन्। साथै, चिया कविता सिक्किमका इच्छुक सदस्यहरूले पनि व्यक्तिगत रूपमा पुस्तक उपलब्ध गराउँदै पुस्तकालय निर्माण अभियानमा योगदान दिएका छन्।
हाल कुपुकस्थित नील नेहा होमस्टेको आँगनमा पुस्तकालय स्थापना गरिएको छ। होमस्टेका सञ्चालक अशोक कुमार विश्वकर्माले आगामी एक वर्षभित्र पुस्तकालयमा बसेर अध्ययन गर्न सकिने सुविधासहितको छाहारी निर्माण गरिदिने बताएका छन्।
पुस्तकालय स्थापनाको पहललाई सराहनीय बताउँदै सिक्किम अकादमीका महासचिव पूर्ण योञ्जनले चिया कविता सिक्किमलाई बधाई दिए साथै भविष्यमा पनि आवश्यक सहयोग गर्ने बताए। उनले चिया कविता सिक्किमले थालेको पहलमा माटो कवि जीवन थिङ जोडिएकोमा खुसी साझा गरे।
कुपुक वार्डकी पञ्चायत सदस्य मिङ्मा लामु शेर्पाले पुस्तकालय स्थापनाका लागि चिया कविता सिक्किमप्रति आभार व्यक्त गर्दै यसबाट स्थानीय बासिन्दासँगै सीमा क्षेत्रमा सुरक्षामा खटिएका विभिन्न सुरक्षा निकायका सदस्यहरूलाई समेत लाभ पुग्ने बताइन्।
उनले अन्तराष्ट्रिय सीमावर्ती हिमाली गाउँमा मोबाइल र इन्टरनेटको सुविधा दुर्गम हुने भएको हुनाले सबैले सामाजिक सञ्जालको साटो किताबको सुविधा उपभोग गर्न सक्ने सहजता जोडिएको बताउँदै पहलकर्ता प्रति आभार प्रकट गरिन्।
चिया कविता सिक्किमका संयोजक प्रवीण खालिङले कुपुकमा स्थापित पुस्तकालयलाई भविष्यमा भारतमै परिचित पुस्तकालयका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनले पुस्तकालयलाई निरन्तर रूपमा सञ्चालन तथा विस्तार गर्न स्थानीय बासिन्दा र अन्य सरोकारवालाबाट सहयोगको अपेक्षा राखिएको बताएका छन्।
उनले भने, गत वर्ष 4 अगस्तको गोधुलीमा हामी केही कविता र किताबप्रेमीहरू कविता साँझ गर्न कुपुप गाउँ आएका थियौँ। त्यो साँझ एउटा खुल्ला पुस्तकाल स्थापना गरिदिने बताएको तथा त्यो सपना बोकेर एक वर्ष पुरा हुँदा साकार रूप प्राप्त गर्न सकेको बताए।
उनले यो पुस्तकालय चिया कविता सिक्किमको सपना रहेको अनि यो सपनालाई बचाएर राख्ने जिम्मेवारी अब कुपुपका पाठक र गाउँलेहरूको रहेको बताए। उनले यसबाट प्रसस्त लाभ लिनुपर्ने र चिया कविताले समय समयमा थप पुस्तकहरू उपलब्ध गराइरहने बताए।
जानकारी अनुसार, कुपुपमा स्थापना गरिएको सार्वजनिक खुल्ला पुस्तकालय सम्भवतः भारतकै दोस्रो उच्च स्थानको पुस्तकालय हो। हिमाचल प्रदेशको चिचाम गाउँको स्पिती भेल्लीमा 13,596 फुटको उचाईंमा सार्वजनिक पुस्तकालय सबैभन्दा उच्च स्थानको पुस्तकालय मानिन्छ।
माटोकवि जीवन थिङ पुस्तकालयको उद्घाटन कार्यक्रमको अवसरमा चिया कविता सिक्किमले 'आँगनमा कविता' कार्यक्रम पनि आयोजना गरेको थियो। यस अवसरमा उपस्थित कविहरूले नेपाली, हिन्दी र अंग्रेजी भाषामा कविता वाचन गरे। जसमा प्रवीण खालिङ, डा बलराम पाण्डे, डा सुचन प्रधान, डा शारदा छेत्री, सरोजनी सुब्बा, गोपाल यात्री, गोपाल ढकाल, अम्बर लाछिकाठी, दावा योञ्जन, दीपा राई, मणिका शर्मा, राधा पाण्डे, पीएन प्रधान, पुजा छेत्री, एनबी घिमिरे, विश्वजीत बास्कोटा, विवेक छेत्री, सविना राई, रञ्जना कार्की, मोतिराज राईले नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा कविता सुनाए। आरजे प्रबल राईले सञ्चालन गरेको कार्यक्रममा कलाकार सनकुमार राईले बाँसुरी वादन गरेर मोहित पारेका थिए भने सञ्जु प्रधानले धन्यवादको प्रस्ताव राखेका थिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल