
गान्तोक, 23 अगस्त (हि.स.)। स्पेसल ओलम्पिक्स भारत (एसओबी), सिक्किम च्याप्टरको आयोजनामा परिवार तथा स्पेसल ओलम्पिक्स अभियानसँग सम्बन्धित व्यक्तिहरूमा स्वास्थ्यसम्बन्धी सचेतना र कल्याण प्रवर्द्धन गर्ने उद्देश्यले गान्तोकको तादोङमा आज परिवार स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरियो।
कार्यक्रममा सिम्फेडका अध्यक्ष तथा एसओबी सिक्किम च्याप्टरका सल्लाहकार तेन्जिङ दोर्जी भोटियाको उपस्थिति रहेको थियो।
कार्यक्रममा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको समग्र स्वास्थ्य तथा कल्याणका लागि परिवारको सहभागिता, स्वास्थ्यसम्बन्धी सचेतना र नियमित हेरचाहको महत्त्वबारे प्रकाश पारिएको थियो। कार्यक्रममा परिवारका सदस्य तथा सरोकारवालाहरूबीच आपसी अनुभव तथा जानकारी आदान-प्रदान गर्दै सामुदायिक सहयोगलाई अझ सुदृढ़ बनाउने अवसरसमेत प्राप्त भएको बताइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भोटियाले स्वस्थ, समावेशी तथा सहयोगी समाज निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले सिक्किम च्याप्टरको स्पेसल ओलम्पिक्स भारतले खेलाडी तथा उनीहरूका परिवारको स्वास्थ्य, समावेशिता र कल्याणका लागि गर्दै आएको प्रयासको प्रशंसा गरे।
कार्यक्रमले सिक्किममा स्वास्थ्य सचेतना अझ सुदृढ़ बनाउँदै बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवारलाई थप सहयोग र अवसर सुनिश्चित गर्ने प्रतिबद्धतासहित समापन भयो।
---------------
हिन्दुस्थान समाचार / बिशाल