
बीरभूम, 23 अगस्त (हि.स.)। बीरभूमका चर्चित ढुङ्गा व्यापारी टुलु मण्डल मामिलाको जाँच अब मुर्शिदाबादको डोमकलसम्म आइपुगेको छ। गए शनिवार राती बीरभूम जिल्ला पुलिसको विशेष जाँच टीमले तृणमूल कङ्ग्रेसका नेता अनुब्रत मण्डलका पूर्व बडीगार्ड सायगल हुसैनलाई सँगै ल्याएर डोमकलस्थित उसको घरमा छापामारी गऱ्यो।
पुलिस अधिकारीहरूले सायगलको घरमा धेरै बेरसम्म खोजी अभियान सञ्चालन गरे। यस अवधि परिवारका सदस्यहरूसित जाँचबुझ गरिनका साथै केही दस्तावेजहरूको पनि जाँच गरियो। तथापि पुलिसको हातमा के-के पऱ्यो, यसको आधिकारिक जानकारी साझा गरिएको छैन।
यसपूर्व पुलिसले बोलपुरस्थित सायगलको फ्ल्याटमा पनि छापामारी गरेको थियो। त्यस कारबाहीमा लगभग 13 लाख रुपियाँ नगद र लगभग 800 ग्राम सुन जफत गरेको थियो। सोही दिन सायगललाई पक्राउ पनि गरिएको थियो।
सायगलको घरमा कारबाही गर्नअघि बीरभूम पुलिसको विशेष जाँच टीमले गए शनिवार मुर्दाबादस्थित टुलु मण्डलका निकटवर्ती प्रवीर दासको ससुरालमा पनि लगभग तीन घण्टासम्म खानतलासी गरेको थियो। खानतलासीपछि पुलिस एउटा कालो ब्याग लिएर त्यहाँबाट गएको थियो। अनुसन्धानको क्रममा प्रवीर दाससित जाँचबुझ गर्दा सायगलसित सम्बन्धित जानकारी हात लाग्यो जसपश्चात पुलिस प्रवीर र सायगललाई साथमा लिएर डोमकल पुग्यो।
प्रवीर दास बीरभूमको मोहम्मद बजार भूमि विभागमा लिपिकको पदमा कार्यरत थिए। आरोप छ, प्रशासनिक पदको फाइदा उठाएर तिनले टुलु मण्डलको लागि काम गर्दै आएका थिए भने सट्टामा तिनले ठूलो धनराशि लिन्थे। पुलिसले तिनलाई वित्तीय अनियमितताको आरोपमा पक्राउ गरेको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा