राष्ट्रिय खेलकुद दिवसमा एसकेएम स्पोर्ट्स सेलले ५ किलोमिटर म्याराथन आयोजना गर्ने
राष्ट्रिय खेलकुद दिवसमा एसकेएम स्पोर्ट्स सेलले ५ किलोमिटर म्याराथन आयोजना गर्ने


गान्तोक, 25 अगस्त (हि.स.)। राष्ट्रिय खेलकुद दिवसको अवसरमा एसकेएम स्पोर्ट्स सेलको आयोजनामा आगामी २९ अगस्तमा गान्तोकमा ५ किलोमिटर म्याराथन आयोजना गरिने भएको छ। म्याराथनमा पुरुष तथा महिला दुवै सहभागी हुन सक्नेछन्। प्रतियोगिता चारवटा अलग-अलग उमेर समूहमा आयोजना गरिनेछ।

एसकेएम स्पोर्ट्स सेलले मंगलबार गान्तोकमा आयोजित पत्रकार सम्मेलनमार्फत म्याराथन आयोजनाबारे जानकारी दिएको हो। सेलका उपाध्यक्ष एवं विधायक तेन्जिङ लाम्थाले सिक्किम र मुख्यमन्त्री पीएस गोले खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने कार्यका लागि परिचित रहेको बताए। मुख्यमन्त्रीले राज्यका युवाहरूलाई खेलकुदको क्षेत्रमा अघि बढ्न निरन्तर प्रोत्साहित गरिरहेको उनले बताए।

उनले राष्ट्रिय खेलकुद दिवसका अवसरमा आयोजना गरिने ५ किलोमिटर म्याराथनलाई मुख्यमन्त्री पीएस गोलेले गान्तोकस्थित रिज पार्कबाट झण्डा देखाएर शुभारम्भ गर्ने जानकारी दिए। एसकेएम सरकारले राज्यमा हुने विभिन्न खेलकुद गतिविधिलाई निरन्तर सहयोग गर्दै आएको पनि उनले बताए। उनले आम नागरिकलाई प्रतियोगितामा अधिकभन्दा अधिक संख्यामा सहभागी हुन आह्वान गरे।

एसकेएम स्पोर्ट्स सेलका महासचिव निर्मल छेत्रीले म्याराथनको थीम ‘रन फर हेल्दियर सिक्किम’ रहेको बताए। प्रतियोगितामा सहभागी हुन कुनै पनि दर्ता शुल्क नलाग्ने जनाइएको छ। इच्छुक सहभागीहरूले क्यूआर कोडमार्फत वा अफलाइन आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

म्याराथनलाई चारवटा उमेर समूहमा विभाजन गरिएको छ। जसमा १७ वर्षमुनि, १८-३५ वर्ष, ३६-४५ वर्ष र ४६ वर्षमाथि (भेटेरान) समूह रहेका छन्। आयोजकका अनुसार, प्रतियोगितामा अधिकतम ५०० जना सहभागी हुन सक्नेछन्। म्याराथन गान्तोकको रिज पार्कबाट शुरु भएर जीरो पोइन्ट, वज्र, भानु पथ, दुकी पान दोकान र सचिवालय हुँदै पुनः रिज पार्कमा आएर सम्पन्न हुनेछ।

प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ भने सहभागी सबैलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande