
खरसाङ, २५ अगस्त (हि.स.)। शहीद मेजर दुर्गा मल्लको ८२औँ बलिदान दिवसको अवसरमा आज गाडीधुरामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ व्यक्तित्व एवं समाजसेवी सीके श्रेष्ठले गोर्खाहरूले अब पुरानै बाटोमा सीमित नभई नयाँ सोच र नयाँ बाटो खोजेर अघि बढ्नुपर्ने आह्वान गरे।
उनले दागोपाप र जीटीएलाई स्थायी राजनीतिक समाधान नभई विगतमा प्राप्त भएका ‘अफर’ का रूपमा व्याख्या गर्दै मेजर दुर्गा मल्लको सपना साकार पार्न नयाँ ढंगले काम गर्नुपर्नेमा जोड दिए। खरसाङ महकुमाअन्तर्गत गाडीधुरा नवदीप परिवारको आयोजनामा ८२औँ बलिदान दिवस श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम नवदीप परिवारका सभापति गोबिन आचार्यको अध्यक्षता तथा सीके श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा फिल्म निर्देशक एवं वरिष्ठ कलाकार तुलसी घिमिरे, संगीतकार चन्दन लम्जेल, वरिष्ठ साहित्यकार तथा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्य डा. आशा मुखिया लामा, डा. कमला तामाङ, अनुप गदाल, सभासद कल्पना प्रधानलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको पहिलो चरणमा गाडीधुरामा रहेको शहीद मेजर दुर्गा मल्लको सालिगमा श्रद्धाञ्जली अर्पण गरिएको थियो। उपस्थित अतिथिहरूले सालिगमा श्रद्धाञ्जली अर्पण गर्दै शहीद मल्लको योगदानको स्मरण गरे।
दोस्रो चरणको कार्यक्रम गाडीधुरास्थित सार्वजनिक भवनमा सम्पन्न भएको थियो। सीके श्रेष्ठले आफ्नो सम्बोधनमा मेजर दुर्गा मल्लले देश स्वतन्त्र हुनुअघि नै २५ अगस्त, १९४४ मा बलिदान दिएको स्मरण गरे। उनले शहीदको बलिदानलाई गोर्खा समुदायको संघर्ष र पहिचानसँग जोड्दै संघर्षको परिणामभन्दा संघर्ष स्वयंलाई महत्व दिनुपर्ने बताए।
उनले भने, “सबै संघर्ष केवल जित्नका लागि मात्र होइन, संघर्ष गर्नुको अर्थ हामी जिउँदै छौँ भन्ने हो। हार-जीतको कुरा अर्कै हो। हामीले हाम्रो संघर्षलाई हेर्नुपर्छ, परिणामलाई होइन।
श्रेष्ठले गोर्खाहरूको संघर्ष भूभागका लागि मात्र नभई आफ्नो अस्तित्व र पहिचानसँग जोडिएको बताए। संघर्षलाई मर्यादापूर्ण ढंगले अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले मेजर दुर्गा मल्लले गोर्खा समुदायलाई संघर्षको महत्व सिकाएको बताए।
आफू विगत ५० वर्षदेखि गोर्खाल्याण्डको मुद्दामा काम गर्दै आएको उल्लेख गर्दै श्रेष्ठले गोर्खाहरूले आफ्नो इतिहास र वर्तमान धरातलीय अवस्था बुझ्नुपर्ने बताए। उनले अब नयाँ बाटो खोज्नुपर्ने, अध्ययन र मनन गर्नुपर्ने तथा मेजर दुर्गा मल्लको सपना साकार पार्न नयाँ ढंगले काम गर्नुपर्नेमा जोड दिए।
उनले दागोपाप र जीटीएलाई स्थायी समाधान नभई ‘अफर’ का रूपमा टिप्पणी गर्दै केवल कुनै संरचना प्राप्त हुँदैमा राजनीतिक समाधान नहुने बताए। “आजको समयमा कोही पनि सर्वेसर्वा हुँदैन। पहिलाको जस्तो जमाना छैन,” उनले भने।
श्रेष्ठले गोर्खा जातिले धेरै दुःख भोगिसकेको उल्लेख गर्दै अब पुरानै शैलीमा अघि बढ्नुभन्दा सबैजना एकजुट भएर नयाँ बाटोको खोजी गर्नुपर्ने बताए।
कार्यक्रममा नेपाली फिल्म जगतका प्रसिद्ध निर्देशक एवं वरिष्ठ कलाकार तुलसी घिमिरेलाई ‘भीम लकान्द्री सम्मान पुरस्कार’ तथा वरिष्ठ व्यक्तित्व सनु गोलेलाई ‘कमल छेत्री स्मृति सम्मान पुरस्कार’ प्रदान गरिएको थियो।
सम्मानित व्यक्तित्वद्वयले कार्यक्रममा सम्बोधनसमेत गरेका थिए। कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो।
हिन्दुस्थान समाचार / हनोक