जनताको तर्फबाट सरकारलाई जवाफदेही बनाउन सीएपी सिक्किम प्रतिबद्ध: गणेश राई
सीएपीको बैठक


गान्तोक, २५ अगस्त (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश राईले सिङ्ताम-खाम्दोङ निर्वाचन क्षेत्रको दुईदिने भ्रमण सम्पन्न गरेका छन्। सिक्किममा पार्टीलाई सुदृढ़ बनाउने तथा जनतासँग प्रत्यक्ष रूपमा जोडिने पार्टीको जारी कार्यक्रमअन्तर्गत उनले उक्त भ्रमण गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

२४ अगस्त, २०२६ मा सीएपी अध्यक्ष राई वरिष्ठ नेताहरूसँग सिङ्ताम-खाम्दोङ निर्वाचन क्षेत्रमा पुगे। भ्रमणका क्रममा उनले स्थानीय समुदायका सदस्यहरूसँग भेटघाट तथा अन्तरक्रिया गरे।

त्यसको भोलिपल्ट अध्यक्ष राईले पार्टीका नेता, पदाधिकारी तथा कार्यकर्ताहरूसँग निर्वाचन क्षेत्रस्तरीय बैठक आयोजना गरे। बैठकमा उनले लोकतन्त्रमा बलियो र प्रभावकारी प्रतिपक्षको महत्वपूर्ण भूमिकामाथि जोड दिँदै सीएपी सिक्किमले बलियो, सक्रिय तथा जनकेन्द्रित प्रतिपक्षी पार्टीका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताए।

उनले मुख्यमन्त्री पीएस तामाङको नेतृत्वमा रहेको एसकेएम सरकारअन्तर्गत कथित व्यापक भ्रष्टाचार, कुशासन तथा कुप्रबन्धनप्रति गम्भीर चिन्ता व्यक्त गरे। सिक्किमका जनताको तर्फबाट सरकारलाई जवाफदेही बनाउन सीएपी सिक्किम प्रतिबद्ध रहेको उनले दोहोर्याए।

अध्यक्ष राईले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई एकजुट भएर जमीनी स्तरमा संगठनलाई अझ सुदृढ़ बनाउन तथा भ्रष्टाचार र कुप्रबन्धनविरुद्ध प्रभावकारी रूपमा संघर्ष गर्न तयार रहन आह्वान गरे।

उनले सिक्किमका जनतामा २०२९ मा सीएपी सिक्किमको सरकार गठन गर्ने चाहना बढ्दै गएको दाबी गरे।

भ्रमणका क्रममा सिङ्ताम खाम्दोङ निर्वाचन क्षेत्रका जिग्मी भोटिया औपचारिक रूपमा सीएपी सिक्किममा प्रवेश गरेको बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande