
खरसाङ 27 अगस्त (हि.स.)। इण्डियन डेमोक्रेटिक रिपब्लिकन फ्रण्ट (आईडीआरएफ) ले केन्द्रिय गृहमन्त्री अमित शाहसँग भाजपा गठबन्धन दलका पहाडका नेताहरूले गरेको बैठकलाई स्थायी राजनीतिक समाधान नभई गोर्खाल्याण्डको सौदा ठहर गरेको छ। आईडीआरएफले यसको घोर विरोध जनाएका छन्।आईडीआरएफका महासचिव डोनाल्ड गतराजले भने, फेरि तेस्रो चोटी गोर्खा जातिलाई ठगेर गोर्खाल्याण्ड बेच्ने षड्यन्त्र पहाडका धुपौरे नेताहरूले गर्दैछन्। यस्ता नेताहरू गोर्खाको नाममा कलंक हुन्। 2017 पछि, 2021 पछि र अहिले 2025-26 मा फेरि उही नाटक दोहोरिएको छ।'
गतराजले थप भने, पहाडका केही दलाल नेताहरूले गोर्खाल्याण्डको नामलाई बेचेर खाने भाँडो बनाएका छन्। यो नेताहरुले गोर्खाल्याण्डको भावनालाई चुनाउमा बेच्ने र दिल्लीमा गएर आत्मसमर्पण गर्ने काम मात्र गरेका छन्। यिनकै कारणले आज गोर्खा जाति बरबाद भएको छ।
आईडीआरएफका केन्द्रिय महासचिव घहतराजले प्रेस विज्ञप्ति जारी गर्दै भने, आईडीआरएफको अडान प्रष्ट छ, 'टेबलमा राखेको झुठो प्याकेज होइन, केवल गोर्खाल्याण्ड चाहिन्छ। यसबाहेक अरु कुनै पनि विकल्प हामीलाई स्वीकार्य छैन। गोर्खा समुदाय भिखारी होइन, हामी दया मागिरहेका छैनौं, हामी हाम्रो संवैधानिक अधिकार, छुट्टै राज्य गोर्खाल्याण्ड मागिरहेका छौं।
उनले अघि भने, स्थायी राजनीतिक समाधानको नाममा गोर्खा जनताको 117 वर्ष पुरानो सपना र 1200 भन्दा बढी शहिदको रगतसँग खेलवाड गर्ने अधिकार कसैलाई छैन।' उनले चेताउनी दिँदै गोर्खाल्याण्डबाहेक कुनै पनि खिँचडी समाधान ल्याइए त्यसको सडकदेखि संसदसम्म कडा विरोध गरिने बताए।
---------------
हिन्दुस्थान समाचार / हनोक