
खरसाङ 27 अगस्त (हि.स.)। खरसाङ महाविद्यालयमा भाषा संग्रामी उत्तमकुमार छेत्रीको सम्मानमा आज नेपाली भाषा आन्दोलन : संवार्ता कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम खरसाङ महाविद्यालयको नेपाली विभाग, सांस्कृतिक उप समिति र तर्क एवं संगोष्ठी उप समितिको आयोजनामा सम्पन्न भयो।
कार्यक्रमको अध्यक्षता खरसाङ महाविद्यालयका प्राचार्य डा समीर बलले गरेका थिए। यस अवसरमा प्रमुख अतिथिका रुपमा भाषा संग्रामी उत्तमकुमार छेत्री उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रुपमा साहित्यकार एवं पत्रकार हनोक थापा उपस्थित रहेका थिए।
कार्यक्रममा विशिष्ट अतिथि साथै वार्ताकारको रुपमा साहित्यकार एवं पत्रकार हनोक थापाले नेपाली भाषा मान्यताको आन्दोलन र भाषा संग्रामीहरु विषयमा वार्ता प्रस्तुत गरेका थिए। उनले भाषा मान्यताको आन्दोलनमा भाषा संग्रामी उत्तमकुमार छेत्रीको योगदान विषयमा वार्ता प्रस्तुत गरे। विशेष गरी उनले आफ्नो प्रकाशोन्मुख पुस्तक 'नेपाली भाषा मान्यता आन्दोलनका एक सक्रिय र समर्पित योद्धा उत्तमकुमार छेत्री' बाट उद्धृत गर्दै भाषा संग्रामी उत्तमकुमार छेत्रीको विशेष योगदान विषयमा विस्तृत विवरण प्रस्तुत गरे।
कार्यक्रममा नेपाली विभागकी प्रमुख प्राध्यापिका सरस्वती मोहोराले पर्यवेक्षकीय टिप्पणी राखेकी थिइन्। उनले भाषा संग्रामी उत्तमकुमार छेत्रीलाई साक्षात् रूपमा पाउनु सबैको लागि असल कुरा रहेको बताउँदै नेपाली भाषाले संवैधानिक मान्यता पाउनुमा भाषा संग्रामी उत्तमकुमार छेत्रीको भूमिका र योगदान महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा खरसाङ महाविद्यालयका प्राध्यापक प्राध्यापिकाहरुको समूहद्वारा गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा खरसाङ महाविद्यालयका नेपाली विभागका विद्यार्थीहरुले कविता पठन गरेका थिए।
यसै कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई लिएर आयोजित निबन्ध लेखन प्रतियोगिताको परिणाम घोषणा साथै पारितोषिक वितरण गरिएको थियो। यस प्रतियोगितामा पुष्परानी मेमोरियल विद्यालयका निशल राई प्रथम, यसै विद्यालयका प्रभाकर बराईली दोस्रो र सोनादा उच्चत्तर माध्यमिक विद्यालयकी रोशनी खातुन तेस्रो भइन्। कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिको बाहुलीबाट नानीहरुलाई पारितोषिक वितरण गरियो।
हिन्दुस्थान समाचार / हनोक