खरसाङ महाविद्यालयद्वारा भाषा संग्रामी उत्तमकुमार छेत्रीलाई सम्मान
Uttam Kumar chettri felicitated


खरसाङ 27 अगस्त (हि.स.)। नेपाली भाषा मान्यता आन्दोलनका एक सक्रिय योद्धा एवं भाषा संग्रामी उत्तमकुमार छेत्रीलाई खरसाङ महाविद्यालयमा सम्मान जनाइएको छ। छेत्री मूलत: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको मालुटार चियाबारी निवासी हुन् भने वर्तमानमा बस्दै आएका छन्।

भाषा संग्रामी उत्तमकुमार छेत्रीको सम्मानमा खरसाङ महाविद्यालयमा नेपाली भाषा मान्यताको आन्दोलन: संवार्ता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा भाषा संग्रामी छेत्रीलाई खरसाङ महाविद्यालयका प्राचार्य डा समीर बलको बाहुलीबाट खदार्पणसहित शिर शोभा, शल ओढाएर साथै सम्वर्ध्दना पत्र प्रदान गरेर सम्मान जनाइयो।

भाषा संग्रामी छेत्रीले आफ्नो वक्तव्य राख्दै नेपाली भाषा मान्यता आन्दोलनको ऐतिहासिक पृष्ठभूमि र आफ्नो योगदान साथै अनुभवहरु साझा गरेका थिए। उनले नेपाली भाषाले मान्यता पाएको 35 वर्ष पुगेको, तर नेपाली भाषाको प्रयोग र नेपाली भाषाबाट कतिजना आईएएस बनिए त्यो चिन्ताको विषय रहेको बताए।

उनले नेपाली भाषाको प्रयोग र लेखनमा देखिएको कमजोरी विषयमा बोल्दै यस विषयमा मनन चिन्तन गर्नु पर्ने बताए। छेत्रीले नेपाली भाषा प्रयोग र लेखनमा नयाँ पिँढीले सोच्नु पर्ने आवश्यकता रहेको बताए। उनले भाषा, साहित्य, संस्कृति भेषभूषा जातिको परिचय हो र यसलाई संरक्षण र सम्बर्द्धन गरेर लानुपर्छ भनी बताए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande