एसडीएफ अध्यक्षले नेपाल जलप्रलयको घटनाप्रति दुःख एवं चिन्ता व्यक्त गरे
नेपाल जलप्रलयको दृश्य


गान्तोक, 27 अगस्त (हि.स.)। पूर्व मुख्यमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले नेपालको उत्तरी क्षेत्रमा आएको भीषण हिम-बाढ़ीले नेपाली जन-जीवनलाई नराम्ररी प्रभावित तुल्याएको घटनाले अत्यन्त दुःखित र चिन्तित बनाएको बताएका छन्। उनले अचानक र अप्रत्यासित रूपमा आएको बाढ़ीका कारण ठूलो मात्रामा धन-जनको क्षय-क्षति हुनुसँगै धेरै स्थानीय मानिसहरूलाई विस्थापित समेत गराएको बताएका छन्।

एसडीएफ अध्यक्षले बिहिवार बिहान जारी प्रेस बयानमा भने, 'बाढ़ीका कारण सम्पूर्ण तटीय क्षेत्रका मानिसहरू सन्त्रास र भयको अवस्थामा बाँच्न विवश बनेका छन्। उच्च हिमाली क्षेत्रका हिमताल फुट्दा वा अचानक भारी वर्षा हुँदा यस किसिमका प्राकृतिक प्रकोप भएको हुनसक्ने सङ्केत र जानकारीहरू पाइएका छन्। यस प्राकृतिक प्रकोपको कारणहरू निकट भविष्यमा अवश्यै खुल्नेछ।'

उनले भने, यस प्रकोपका कारण नेपालका धेरै गाउँ, शहर, सड़क, पूल तथा जलविद्युत उद्योगहरू पनि नष्ट भएका छन्। यस विकट समयमा पीड़ित जनसमक्ष राहत, उद्धार र सहयोग तुरन्तै पुग्नसकोस्। यस आपदाको समय राष्ट्रियसँगै अन्तर्राष्ट्रिय जगतको पनि सहयोग र मद्दत जरूरी छ।'

एसडीएफ अध्यक्षले नेपाल-तिब्बत सीमा क्षेत्रमा रहेको रसुवा तथा नुवाकोट जिल्ला सबैभन्दा बढ़ी प्रभावित भएको भए पनि त्यसभन्दा निम्न इलाकाका जिल्ला र क्षेत्रका मानिसहरू पनि ठूलो मात्रामा प्रभावित भएका बताएका छन्। र अझै पनि प्रभावित हुनसक्ने सम्भावना धेरै रहेको जानकारी पाइएको छ, जुन ठूलो चिन्ताको विषय रहेको उनले उल्लेख गरेका छन्।

उनले अझ् भने, 'यस घटनामा हालसम्म करीब सयजना मानिसहरूको मृत्यु हुनुसँगै 400 मानिसहरू लापत्ता भएको बताइएको छ। यो संख्या प्रारम्भीक आकलन मात्र रहेको र अझ ठूलो संख्या हुनसक्ने सम्भावना जनाइँदैछ। नेपाली नागरिकहरूका साथमा भारतीय, युरोपीय, अमेरिकी, अफ्रिकी र अन्य देशका नागरिकहरू पनि बेपत्ता बनेका छन्। पर्यटक, तीर्थयात्री, अन्य पेशेवर धेरै संख्यामा लापत्ता छन्। प्रभावित सबैको उद्धार कार्य तत्काल र सफलतापूर्वक हुनसकोस्, र मानवीय क्षतिलाई न्यूनीकरण गर्नसकियोस्।'

उनले यो विकट र दुःखद आपदाको समयमा हामी नेपाली जनगण र राष्ट्रका साथमा छौं भन्दै यो विपत्ती र सङ्कटबाट नेपाल यथासम्भव छिटो मुक्त हुनसकोस् भन्ने प्रार्थना गरेका छन्। साथै, उनले सम्पूर्ण मृतात्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकित परिवारहरूप्रति समवेदना प्रकट गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande