मिजोरममा रेल पुगेको एक वर्ष, पर्यटनमा ८६ प्रतिशतले वृद्धि
पूर्वोत्तर में रेल कनेक्टिविटी का नया मील का पत्थर: बैराबी-सैरांग रेलवे ट्रैक और सैरांग रेलवे स्टेशन।


नयाँ दिल्ली, १३ सेप्टेम्बर (हि.स.)। पूर्वोत्तर भारतको दुर्गम पहाडी राज्य मिजोरमलाई राष्ट्रिय रेल सञ्जालसँग जोड्ने ५१.३८ किलोमिटर लामो बैराबी-सैराङ रेलमार्गले सञ्चालनको एक वर्ष सफलतापूर्वक पूरा गरेको छ। रेल सेवा शुरु भएको एक वर्षमै राज्यको यातायात, पर्यटन तथा मालसामान ढुवानीको समग्र स्वरूपमा उल्लेखनीय परिवर्तन आएको छ। रेल सम्पर्क शुरु भएपछि मिजोरमको पर्यटन क्षेत्रमा ८६ प्रतिशतभन्दा बढी वृद्धि भएको छ।

रेल मन्त्रालयका अनुसार, गत एक वर्षमा १५ लाखभन्दा बढी यात्रुले यस रेल सेवामाथि भरोसा गरेका छन्। हाल राज्यको राजधानी आइजोलसँग जोडिएको सैराङबाट गुवाहाटी, कोलकाता र दिल्लीका लागि प्रत्यक्ष उच्चस्तरीय रेल सेवा सञ्चालन भइरहेको छ। सैराङ-आनन्द विहार राजधानी एक्सप्रेसले मिजोरमलाई राष्ट्रिय राजधानीसँग प्रत्यक्ष रेल सम्पर्क प्रदान गरेको छ। यसैगरी, जनवरी २०२६ मा केन्द्रिय रेलमन्त्री अश्विनी वैष्णवले शुभारम्भ गरेको सैराङ-सिलचर यात्रुवाहक रेलले असमको बराक उपत्यकासँग नियमित सम्पर्क प्रदान गरिरहेको छ।

यी सबै रेल सेवाले गत एक वर्षमा १,१०० भन्दा बढी फेरा पूरा गरेका छन्। सबै रेलमा क्षमताभन्दा बढी यात्रु रहेको मन्त्रालयले जनाएको छ। सैराङ-आनन्द विहार राजधानी एक्सप्रेसमा १४५ प्रतिशत, सैराङ-कोलकाता सेवामा १४० प्रतिशत तथा सैराङ-गुवाहाटी रेलमा औसत ११० प्रतिशत यात्रु क्षमता उपयोग भएको छ। यी सेवाबाट भारतीय रेललाई टिकट बिक्रीमार्फत ५४ करोड रुपियाँ राजस्व प्राप्त भएको छ। सैराङ रेल स्टेसनमा मात्र गत एक वर्षमा ५.५४ लाखभन्दा बढी यात्रुको आवतजावत भएको छ।

मालसामान ढुवानीका क्षेत्रमा पनि यस रेलमार्गले मिजोरममा आवश्यक वस्तु तथा निर्माण सामग्रीको लागत घटाउन महत्वपूर्ण भूमिका खेलेको छ। उद्घाटनको भोलिपल्ट अर्थात् १४ सेप्टेम्बर, २०२५ मा गुवाहाटी नजिकैको तेतेलियाबाट २६ हजार बोरा सिमेन्ट बोकेको पहिलो मालवाहक रेल सैराङ पुगेको थियो। त्यसपछि आइजोलमा सिमेन्टको मूल्यमा तत्काल कमी आएको थियो। यसैगरी, दिसम्बर २०२५ मा ११९ वटा मारुती कारको पहिलो खेप पनि रेलमार्ग हुँदै सैराङ पुगेको थियो।

गत एक वर्षमा सैराङमा २,५०० भन्दा बढी मालवाहक डिब्बामार्फत सामग्री आपूर्ति गरिएको छ। यसमध्ये करिब ७० प्रतिशत हिस्सा सिमेन्ट, ढुंगा र बालुवाजस्ता निर्माण सामग्रीको रहेको छ। यसबाहेक चामल, मलखाद तथा १५६ डिब्बा मोटरगाडी पनि सुरक्षित रूपमा ढुवानी गरिएको छ।

स्थानीय जीविकोपार्जन तथा हस्तकलालाई प्रोत्साहन गर्ने दिशामा पनि रेल सम्पर्क महत्वपूर्ण बनेको छ। १९ सेप्टेम्बर, २०२५ मा सैराङबाट राजधानी एक्सप्रेसको पार्सल डिब्बामार्फत एन्थुरियम फूलको पहिलो खेप दिल्ली पठाइएको थियो। यसले स्थानीय किसान तथा हस्तकर्मीका हातकरघा, बाँस र हस्तकलाका उत्पादनलाई राष्ट्रिय बजारसम्म प्रत्यक्ष, छिटो र किफायती रूपमा पुर्याउने बाटो खोलेको छ।

उल्लेखनीय छ, प्रधानमन्त्री नरेन्द्र मोदीले १३ सेप्टेम्बर, २०२५ मा बैराबी-सैराङ नयाँ रेलमार्ग तथा सैराङ रेल स्टेसनको उद्घाटन गरेका थिए। यससँगै मिजोरमका जनताको दशकौँ पुरानो रेल सम्पर्कको सपना पूरा भएको थियो। दशकौँसम्म लामो, असहज र अनिश्चित सडक यात्रामा निर्भर रहँदै आएको यस पहाडी राज्यका लागि यो परियोजना महत्वपूर्ण परिवर्तनकारी पहल बनेको छ।

इन्जिनियरिङको उत्कृष्ट नमुनाका रूपमा लिइएको यो रेलमार्ग मिजोरमका ठाडा पहाड, गहिरा खोँच हुँदै निर्माण गरिएको छ। परियोजनामा कुल १५३ वटा पुल छन्, जसमा ५५ ठूला पुल, ८८ साना पुल तथा १० वटा सडकमाथि वा सडकमुनि जाने पुल रहेका छन्। परियोजनाका ६ वटा पुल ७० मिटरभन्दा बढी अग्ला छन्। सबैभन्दा अग्लो पुल ११४ मिटरको रहेको छ, जुन दिल्लीस्थित कुतुब मिनारभन्दा ४२ मिटर अग्लो छ।

यस रेलमार्गमा करिब १६ किलोमिटर लामो ४५ वटा सुरुङ पनि रहेका छन्। रेलमार्गले होर्टोकी, कावनपुई, मुआलखाङ र सैराङ गरी चारवटा नयाँ रेल स्टेसनलाई जोडेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande