

वाराणसी, १३ सेप्टेम्बर (हि.स.)। कश्मीरदेखि कन्याकुमारीसम्म फैलिएको भारतीय भाषाको संसार जति विविध र समृद्ध छ, विकसित भारतको सम्भावनाको क्षितिज पनि त्यति नै व्यापक छ। भारतीय भाषा केवल संवाद र अभिव्यक्तिको माध्यम मात्र नभई हजारौँ वर्षदेखि सङ्कलित ज्ञान, दर्शन, विज्ञान, साहित्य, कला, लोकपरम्परा तथा जीवनदृष्टिका संवाहक हुन्। यी भाषामा सुरक्षित ज्ञानलाई आधुनिक शिक्षा, अनुसन्धान, प्रविधि तथा नवाचारसँग जोड़ेर भारतको ज्ञानशक्तिलाई नयाँ उचाइ दिन सकिन्छ।
विश्वका प्राचीन जीवित शसहरमध्ये एक काशीमा आइतवार भारतीय भाषाको यही सामर्थ्यको विराट स्वरूप प्रस्तुत भयो। महात्मा गान्धी काशी विद्यापीठको गान्धी अध्ययन पीठ सभागारमा बहुभाषी समाचार संस्था हिन्दुस्थान समाचारको आयोजनामा ‘भारतीय ज्ञान परम्परा, क्षेत्रीय भाषा र समृद्ध भारत’ विषयमा भारतीय भाषा समागम–२०२६ आयोजना गरियो। समागममा भारतीय भाषाका विविध ज्ञान परम्परालाई विकसित भारतको संकल्पसँग जोड्ने तथा विश्वव्यापी ज्ञान अर्थव्यवस्थामा भारतको भूमिका सुदृढ़ बनाउने विषयमा विचारविमर्श गरियो।
समागमको उद्घाटन केन्द्रिय विश्वविद्यालय हिमाचल प्रदेशका पूर्वकुलपति तथा प्रमुख अतिथि डा. कुलदीप चन्द अग्निहोत्री, राष्ट्रिय स्वयंसेवक संघको अखिल भारतीय प्रचार टोलीका सदस्य तथा प्रमुख वक्ता मुकुल कानिटकर, केन्द्रिय उच्च शिक्षा संस्थान, सारनाथ, वाराणसीका कुलपति भिक्षु प्रो. (डा.) वाङचुक दोर्जे नेगी, राज्य सूचना आयुक्त पद्मनारायण (पीएन) द्विवेदी तथा उत्तर प्रदेश सरकारको पर्यटन तथा संस्कृति विभागका पूर्वमन्त्री डा. नीलकण्ठ तिवारीले संयुक्त रूपमा गरे। वैदिक मन्त्र उच्चारणबीच भारत माताको तस्बिरमा माल्यार्पण तथा पुष्प अर्पण गरियो।
समारोहको अध्यक्षता हिन्दुस्थान समाचार समूहका अध्यक्ष अरविन्द भालचन्द्र मार्डीकरले गरे। मुख्य संयोजक तथा उत्तर प्रदेश, उत्तराखण्ड, बिहार र झारखण्डका क्षेत्रीय सम्पादक डा. राजेश तिवारीले अतिथिहरूको स्वागत गरे। महामना पण्डित मदनमोहन मालवीय हिन्दी पत्रकारिता संस्थान, महात्मा गान्धी काशी विद्यापीठका निदेशक डा. नागेन्द्र कुमार सिंहको विशेष उपस्थिति रह्यो। कार्यक्रमको सञ्चालन हिन्दुस्थान समाचारका सम्पादक जितेन्द्र तिवारीले गरे।
कश्मीरदेखि कन्याकुमारीसम्म एउटै ज्ञान परिवार
भारतीय भाषा समागममा देशको भाषिक विविधताको यस्तो स्वरूप प्रस्तुत भयो, जहाँ विभिन्न भाषाको विशिष्ट पहिचानसँगै भारतको साझा सांस्कृतिक चेतना पनि देखियो। कश्मीरदेखि कन्याकुमारीसम्म विभिन्न भाषामा सुरक्षित ज्ञानधारा एकअर्कासँग जोडिँदै हजारौँ वर्ष पुरानो विराट भारतीय ज्ञान परम्पराको निर्माण गर्ने विषयमा छलफल भयो।
भाषालाई जोड्नुको अर्थ केवल शब्द र साहित्यको आदानप्रदान मात्र नभई एउटा क्षेत्रमा अर्जित ज्ञान, अनुभव तथा परम्परालाई अर्को क्षेत्रसम्म पुर्याउनु पनि हो। स्थानीय तथा क्षेत्रीय भाषामा उपलब्ध ज्ञानलाई आधुनिक तकनीक, डिजिटल माध्यम, शिक्षा तथा अनुसन्धानसँग जोड्न सके भारतको भाषिक विविधता व्यापक ज्ञान सञ्जालका रूपमा विकसित हुन सक्नेमा जोड दिइयो।
समागममा भारतीय भाषालाई केवल विगतको विरासतका रूपमा हेर्नुको सट्टा भविष्यको विकासशक्तिका रूपमा अघि बढ़ाउनुपर्ने धारणा राखियो। भाषामा सुरक्षित ज्ञानलाई आधुनिक सन्दर्भमा उपयोगी बनाउनु विकसित भारत निर्माणको महत्वपूर्ण कड़ी बन्न सक्ने बताइएको छ।
विरासतबाट ज्ञान, ज्ञानबाट नवाचार र नवाचारबाट अर्थव्यवस्था
भारतीय भाषामा उपलब्ध साहित्य, लोकज्ञान, परम्परागत ज्ञान, दर्शन तथा जीवन-अनुभव केवल सांस्कृतिक सम्पदा नभई आधुनिक अनुसन्धान, नवाचार तथा नयाँ ज्ञान उत्पादनका लागि व्यापक सम्भावना बोकेको बताइएको छ। यसलाई व्यवस्थित रूपमा सङ्कलन, संरक्षण तथा आधुनिक ज्ञान–विज्ञानका प्रणालीसँग जोड्नुपर्ने आवश्यकता औँल्याइएको छ।
कृत्रिम बुद्धिमत्ता, डिजिटल तकनीक तथा आधुनिक अनुवाद प्रणालीले यस दिशामा नयाँ सम्भावना सिर्जना गरेका छन्। यी प्रविधि मार्फत क्षेत्रीय भाषामा उपलब्ध सामग्रीलाई व्यापक समाज तथा विश्वसम्म पुर्याउन सकिनेछ। यसबाट भाषिक अवरोध कम हुनुका साथै भारतीय ज्ञान परम्पराका नयाँ आयाम समेत उजागर हुनेछ।
विश्वव्यापी नलेज इकोनमीमा भारतको नयाँ पहिचान
२१औँ शताब्दीको विश्व अर्थव्यवस्थामा ज्ञान, प्रतिभा तथा नवाचार निर्णायक शक्ति बनिसकेका छन्। यस्तो अवस्थामा भारतको युवा प्रतिभासँगै यसको बहुभाषिक तथा बहुस्तरीय ज्ञान परम्परा पनि ठूलो शक्ति हो। भारतीय भाषा समागमले यही शक्तिलाई विकसित भारतको संकल्पसँग जोड्ने दिशालाई रेखाङ्कित गरेको छ।
भारतको भाषिक विविधतालाई शिक्षा, अनुसन्धान, प्रविधि तथा नवाचारसँग जोड्न सके यसले विश्वस्तरमा भारतको विशिष्ट पहिचान तथा प्रतिस्पर्धात्मक क्षमता सुदृढ़ गर्न सक्छ। क्षेत्रीय भाषामा उपलब्ध ज्ञानको डिजिटल रूपान्तरण तथा आधुनिक प्रयोगले देशको बौद्धिक सम्पदा विस्तारमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्नेछ।
भारतीय भाषा बन्नेछन् विकसित भारतको ज्ञानशक्ति
समागमको मूल सन्देश भारतीय भाषालाई केवल विरासतका रूपमा संरक्षण गर्नु पर्याप्त नभएको र तिनलाई ज्ञान, अनुसन्धान, प्रविधि तथा अर्थव्यवस्थासँग जोड्नुपर्ने रहेको थियो। भारतीय भाषामा सङ्कलित ज्ञान आधुनिक प्रविधिको माध्यमबाट देश तथा विश्वसम्म पुग्दा संस्कृति बोकेका यी भाषा ज्ञान उत्पादन गर्ने शक्तिमा रूपान्तरण हुनसक्छ।
भारतीय भाषामा निहित सांस्कृतिक पुँजीलाई आधुनिक ज्ञान अर्थव्यवस्थासँग जोड्दा विकसित भारतको बौद्धिक तथा आर्थिक शक्तिले नयाँ दिशा पाउन सक्छ। काशीमा आयोजित भारतीय भाषा समागम–२०२६ ले भाषिक विविधतालाई भारतको कमजोरी नभई ज्ञान, नवाचार तथा विश्वव्यापी नेतृत्वको ठूलो पुँजीका रूपमा प्रस्तुत गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी