पश्चिम बंगालमा २५२ मदरसा बन्द गर्न सूचना, १०० लाई कारण देखाऊ नोटिस
मदरसा फाइल चित्र


कोलकाता, १३ सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालमा मदरसाहरूको पूर्वाधारको जाँचपछि राज्य सरकारले ठूलो कदम चालेको छ। पहिलो चरणको जाँचमा सरकारी अनुमति नभएका २५२ वटा मदरसालाई बन्द गर्न सूचना जारी गरिएको छ। यीमध्ये अधिकांश ‘खारिजी मदरसा’ रहेको बताइएको छ। यसबाहेक करिब १०० वटा मदरसालाई कारण देखाऊ सूचना जारी गरिएको छ।

जानकारीअनुसार, राज्यमा करिब २,३९६ वटा मदरसाले सरकारी स्वीकृति पाएका छैनन्। ती संस्थाका विद्यमान पूर्वाधार, पाठ्यक्रम तथा विद्यार्थीसम्बन्धी विवरणको जाँच गरेपछि विभागले अनुमति नलिई सञ्चालन भइरहेका संस्थाविरुद्ध कारबाही शुरु गरेको हो।

राज्यको अल्पसंख्यक तथा मदरसा शिक्षा विभागले २२ जुलाईमा कोलकातासहित सबै जिल्लाका मदरसाहरूको सर्वेक्षण गराएको थियो। सोही सर्वेक्षणको प्रतिवेदनमा करिब २,३९६ मदरसासँग सरकारी अनुमति नभएको तथ्य सार्वजनिक भएको हो। जाँचका क्रममा २५२ वटा अनुमति नभएका मदरसा बन्द गर्ने निर्णय गरिएको छ। सम्बन्धित जिल्लाका जिल्ला अधिकारीहरूलाई सूचनाको प्रतिलिपि पठाइएको छ।

कारण देखाऊ सूचना जारी गरिएका करिब १०० मदरसामा पनि पूर्वाधारसम्बन्धी कमजोरी भेटिएको छ। विभागले ती संस्थाले आफ्नो सञ्चालनलाई उचित ठहर गर्न नसके उनीहरूविरुद्ध पनि कडा कारबाही गरिने स्पष्ट पारेको छ।

मन्त्री खुदीराम टुडूले कोलकातासहित राज्यका २२ जिल्लाका सबै मदरसाबाट आवश्यक कागजात संकलन गरिएको जानकारी दिएका छन्। उनले सरकारी अनुमति प्राप्त मदरसाहरू नियमित रूपमा सञ्चालन भइरहने बताए।

यस विषयमा मन्त्री दिलीप घोषले मदरसाहरूका सम्बन्धमा पटक-पटक उजुरी प्राप्त भएकाले जाँच भइरहेको बताए। उनले सरकारी अनुमतिमा सञ्चालन भइरहेका मदरसाहरू सञ्चालनमा रहने तर अनुमति नलिई कतै पनि नयाँ मदरसा खोल्न अनुमति नदिइने स्पष्ट पारे। यस दिशामा कारबाही सुरु भइसकेको पनि उनले बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande