

गान्तोक, १३ सेप्टेम्बर (हि.स.)। सिक्किम माउन्टेनियरिङ एसोसिएसन (एसएमए) र माउन्टेनियरिङ एन्ड एडभेन्चर इन्स्टिच्युट अफ सिक्किम (एमएआईएस) को संयुक्त आयोजनामा जारी गान्तोक हिल ट्रेकको तेस्रो संस्करण १२ सेप्टेम्बरमा सफलतापूर्वक सम्पन्न भएको छ। एकदिने ट्रेकमा विद्यार्थी, सरकारी कर्मचारी तथा स्थानीय युवासहित ठूलो संख्यामा सहभागीहरूले भाग लिए।
यस पटकको ट्रेक ताम्जे, फोदुङ, काबी लुङचोक क्षेत्रलाई जोड्ने प्राकृतिक मार्गमा आयोजना गरिएको थियो। आयोजकका अनुसार, यो क्षेत्र साहसिक पर्यटन तथा दिगो इको-टुरिज्मका लागि पर्याप्त सम्भावना बोकेको छ।
एसएमएका अध्यक्ष कुञ्जाङ ग्याछोले ताम्जे, फोदुङ, काबी लुङचोक ट्रेललाई एकदिने, दुईदिने तथा तीनदिने ट्रेकिङ सर्किटका रूपमा विकास गर्न सकिने बताए। यसबाट स्थानीय समुदायका लागि रोजगारी तथा आयआर्जनका नयाँ अवसर सिर्जना हुनुका साथै दिगो पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनले बताए।
उनले ट्रेललाई सुरक्षित र पर्यटकमैत्री बनाउन वन विभागको सहयोगमा साना फुटब्रिज निर्माण, पदमार्गको मर्मतसम्भार, मनसुनका समयमा अस्थायी आश्रयस्थल तथा निर्धारित क्याम्पिङ साइट निर्माण गर्नुपर्नेमा जोड दिए। साथै, पर्यटक आकर्षित गर्न अनुमति प्रक्रिया सहज बनाउनुपर्ने आवश्यकता पनि उनले औँल्याए।
एसएमएका सचिव प्रवीण खालिङले जारी गरेका प्रेस विज्ञप्तिमा ट्रेक सफल बनाउन सहयोग गर्ने वन विभागका नामेराकपम जसवन्त, आईएफएस (वन्यजन्तु तथा वन संरक्षण), डीएफओ, सिक्किम पुलिस चेकपोस्ट, भारतीय सेनाको १७ माउन्टेन डिभिजन, गान्तोक, ताम्जे क्षेत्रमा तैनाथ भारतीय सेना, एमएआईएस, एसएमए तथा पर्यटन विभागप्रति आभार व्यक्त गरिएको छ।
आयोजकका अनुसार, जुलाईदेखि सेप्टेम्बरसम्मको अवधि यस ट्रेलमा ट्रेकिङका लागि उपयुक्त समय हो। यस अवधिमा क्षेत्रको हरियाली, अल्पाइन वनस्पति तथा प्राकृतिक सौन्दर्यले ट्रेकिङ अनुभवलाई थप आकर्षक बनाउने गर्दछ।
एसएमए र एमएआईएसले सम्बन्धित निकाय तथा सरोकारवालाबीचको सहकार्यबाट ताम्जे, फोदुङ, काबी लुङ्चोक ट्रेललाई भविष्यमा सिक्किमको प्रमुख इको-टुरिज्म तथा साहसिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल