दिलराममा भाजपाको सांगठनिक सभा, ४० भन्दा बढी घरपरिवार पार्टीमा सामेल
भारतीय जनता पार्टीको सांगठनिक सभासितै ४० घर परिवार भाजपामा सामेल


सोनादा, १३ सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टीको टुङ्ग-सन्त मेरिज मण्डलअन्तर्गत दिलराम चियाबारीको भोटे गाउँस्थित सार्वजनिक भवनमा आइतबार सांगठनिक सभा सम्पन्न भएको छ। सभामा सभासद् नुरी शेर्पा, १८४ नम्बर बुथका सभापति सुगेन तामाङ, महिला मोर्चाकी अध्यक्ष प्रियंका तामाङ, १७५ नम्बर बुथका उपसभापति सञ्जय राई लगायत जिल्ला अध्ययन समिति आदिको उपस्थिति रहेको थियो।

सभाका क्रममा टुङ्ग-सन्त मेरिज मण्डलअन्तर्गत इडेलभेल्ली, आनन्द गाउँ, दिलरामको भोटे गाउँ तथा लोअर चैतेपानी बस्तीका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सभापति अमित तामाङ, सचिव दोर्जे तामाङलगायत ४० देखि ४५ घरपरिवार भारतीय जनता पार्टीमा सामेल भएको बताइएको छ। पार्टीमा नवप्रवेशीहरूलाई भाजपा पदाधिकारीहरूले स्वागत गरे।

सभासद् नुरी शेर्पाले टुङ्ग-सन्त मेरिज मण्डलअन्तर्गत विभिन्न बुथहरूमा भारतीय जनता पार्टीमा सामेल हुने क्रम जारी रहेको बताउँदै समर्थन जुटाउने कार्यक्रम पनि निरन्तर सञ्चालन भइरहेको जानकारी दिए। उनले आगामी दिनमा पनि मण्डलका विभिन्न बुथहरूबाट मानिसहरू भारतीय जनता पार्टीमा सामेल हुने क्रम जारी रहने दाबी गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande