हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तराई क्षेत्रका लागि जोनल कमिटी गठन
हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तराई क्षेत्रका लागि जोनल कमिटी गठन


खरसाङ, १३ सेप्टेम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले तराई क्षेत्रका छवटा चिया बगानलाई समेटेर जोनल कमिटी गठन गरेको छ। पानीघट्टा, लोवागढ, बेलघाछी, सिमलबारी, मरियनबारी र सिफ्टीगुडी चिया बगानलाई समेटेर ४३ सदस्यीय पूर्णाङ्क जोनल कमिटी गठन गरिएको हो।

हरिहर आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टी अध्यक्ष अनित थापाको निर्देशनअनुसार गठित कमिटीमा राजु खेरूवालाई सभापति, राजेन किन्दो र अमित बराईकलाई उपाध्यक्ष, महेन्द्र सेवालाई महासचिव, शेखर छेत्री र रोशन मेङ्ग्रालाई कार्यकारी सचिव, सुभाष छेत्रीलाई कोषाध्यक्ष तथा बसन्त प्रधानलाई सहकोषाध्यक्ष चयन गरिएको छ। यसबाहेक पूर्णाङ्क कमिटीमा विभिन्न पदाधिकारीसमेत चयन गरिएको छ।

नवनिर्वाचित पदाधिकारीहरूलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रिय महासचिव अमर लामा, खरसाङ महकुमा समितिका सभापति प्रणाम रसाईली, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका महासचिव जनक छेत्रीलगायतको बाहुलीबाट नियुक्तिपत्र प्रदान गरियो।

कार्यक्रममा भागोप्रमो केन्द्रिय महासचिव अमर लामा, खरसाङ महकुमा समितिका सभापति प्रणाम रसाईली, महासचिव भक्तिमान तामाङ तथा नारी शक्तिकी केन्द्रिय अध्यक्षा अनु छेत्री प्रधानलगायतले सम्बोधन गरेका थिए।

नवगठित जोनल कमिटीलाई अर्को सूचना जारी नभएसम्मका लागि विधिवत् स्वीकृति प्रदान गरिएको जनाइएको छ। उक्त कमिटीले चिया बगानका श्रमिकहरूको हक, हित तथा अधिकारका साथै श्रमिकसम्बन्धी विभिन्न विषयमा प्रतिनिधित्व गर्ने अधिकार प्राप्त गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande