
खरसाङ, १३ सेप्टेम्बर (हि.स.)। विगत दुई वर्षदेखि खरसाङ क्षेत्रमा पर्यटन प्रवर्द्धन तथा संरक्षणका क्षेत्रमा कार्य गर्दै आएको खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको वार्षिक साधारण सभा आज डाउहिलस्थित सिनौलो परिवार समिति भवनमा सम्पन्न भएको छ। संस्थाका सभापति किशोर सिंहको अध्यक्षतामा सम्पन्न सभामा संस्थाले विगत दुई वर्षमा खरसाङ क्षेत्रमा सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा गतिविधिबारे विस्तृत छलफल गरियो।
सभामा कोषाध्यक्ष अमित थापाले सन् २०२६ को ३१ मार्चसम्मको आय-व्यय विवरण प्रस्तुत गरेका थिए। यस अवसरमा संस्थाको तर्फबाट तीन व्यक्तित्वलाई सम्मान गरिएको थियो। गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा एवं वरिष्ठ साहित्यकार आशा मुखिया लामा, पर्यटन क्षेत्रमा कार्यरत निलिमा तामाङ तथा संस्थाका संरक्षक विशाल गुरुङलाई स्मृतिचिह्न प्रदान गरी सम्मान गरियो। सम्मानित व्यक्तित्वहरूले पनि सभालाई सम्बोधन गरेका थिए।
आशा मुखिया लामाले खरसाङको पर्यटन क्षेत्रलाई थप विकास र प्रवर्द्धन गर्ने उपायबारे आफ्नो धारणा राखिन्। निलिमा तामाङले पर्यटन व्यवसायका विभिन्न पक्षबारे जानकारी दिइन् भने संस्थाका संरक्षक विशाल गुरुङले कानुनी विषयमा आवश्यक सुझाउ तथा सल्लाह प्रस्तुत गरे।
यसै सभामा संस्थाको पुरानो कमिटी विघटन गरी नयाँ कमिटी गठन गरिएको छ। सभापतिको पदमा किशोर सिंहलाई गुप्त मतदानमार्फत पुनः निर्वाचित गरिएको छ भने सचिवमा राजु गुरुङलाई सर्वसम्मतिले चयन गरिएको छ। त्यस्तै, कोषाध्यक्षमा अमित थापालाई नै पुनः चयन गरिएको छ।
नयाँ कार्यकारी समितिमा सदस्य संख्या ७ बाट बढाएर २१ पुर्याइएको छ। सभापछि पत्रकारहरूसँग कुराकानी गर्दै संस्थाका सचिव राजु गुरुङले वार्षिक सभामा भएका निर्णय, नयाँ कमिटीको गठन तथा संस्थाका आगामी कार्यक्रमबारे विस्तृत जानकारी गराए।
हिन्दुस्थान समाचार / हनोक