

गुवाहाटी, १४ सेप्टेम्बर (हि.स.)। गुवाहाटी महानगरको वशिष्ठ पूर्व क्षेत्रमा पत्नीको निर्ममतापूर्वक हत्या गरी उनको टाउको काटेर फ्रिजमा राखेको आरोपमा पक्रा परेको आरोपी पति पुलिस भिड़न्तमा मारिएको छ।
पुलिस अनुसार, पछिल्लो एक सातादेखि पुलिस हिरासतमा रहेको आरोपीलाई स्वास्थ्य परीक्षणका लागि गुवाहाटी मेडिकल कलेज तथा अस्पताल लैजाँदै गर्दा नरकासुर पहाड़ी क्षेत्रमा उसले पुलिसलाई छल्दै भाग्ने प्रयास गऱ्यो। त्यस क्रममा पुलिसले उसलाई रोक्न गोली चलाउनुपरेको र गोली लागेर उसको मृत्यु भएको पुलिसले जानकारी गराएको छ।
सात दिनको पुलिस हिरासतपछि उसलाई सोमवार अदालतमा पेश गर्ने तयारी थियो। यसैबीच, गौरीपुरमा बस्दै आएको आरोपीका अभिभावकले सोमवार अदालतमा जमानत निवेदन दर्ता गर्ने तयारी गरेका थिए। पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमका लागि गुवाहाटी मेडिकल कलेज तथा अस्पताल पठाएको छ।
उल्लेखनीय छ, एक साताअघि वशिष्ठपुर क्षेत्रमा रहेको एउटा घरबाट दुर्गन्ध आएको सूचना पाएपछि पुलिस टोली घटनास्थल पुगेको थियो। पुलिस घरभित्र प्रवेश गर्दा ओछ्यान नजिक एक महिलाको सड़ेको शव फेला परेको थियो। अनुसन्धानका क्रममा पुलिसले घरभित्र राखिएको फ्रिजबाट महिलाको टाउको समेत जफत गरेको थियो। मृत महिलाको पहिचान रिया तालुकदारका रूपमा भएको थियो। घटनापछि क्षेत्रमा खैलाबैला फैलिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी