
खरसाङ, 14 सेप्टेम्बर (हि.स.)। खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको सिविटार-महानदी सडकको अवस्था अत्यन्त सोचनीय अवस्थामा पुगेको छ। सोमवार बिहान विद्यार्थीहरु बोकेका एउटा गाडी उकालो चढ्न नसकेपछि बिग्रियो र बाटो अवरुद्ध भएकाले विद्यार्थीहरु घर फर्किन बाध्य बने।
सिविटारदेखि महानदीको राष्ट्रिय राजमार्गसम्म पुग्ने सडक अहिले अत्यन्तै जीर्णावस्थामा पुगेको छ। मरमत्ति हुँदै गरेको रोड बर्खाको समयमा मरमत्ति हुन सकेन। धेरै स्थानमा रोडको अवस्था अत्यन्तै जीर्णावस्थामा पुगेकाले गाडीहरु चलाउन जोखिमपूर्ण बनेको छ।
जानकारी अनुसार, आज बिहान 7 देखि 7.30 बजीको समयमा विद्यार्थीहरुलाई लिएर सिविटारबाट खरसाङ गइरहेको एउटा इको भ्यान सिविटारस्थित जिरोमाथिको गोलाईमा झण्डै दुर्घटनामा पर्यो। गाडी बिग्रिएर बाटोमै रोकिएपछि अन्य गाडीहरू पनि फसेको थियो। गाडी बिग्रिएपछि विद्यार्थीहरू स्कूल जान पाएनन्। स्थानीय चालकहरुले मिलेर गाडी साइड लगाउँदासम्म समय निकै बितेर गइसकेको थियो।
बाटोको अवस्थाका कारण महानदी, गिद्धे, खरसाङ आदि क्षेत्रमा पढ्ने विद्यार्थीहरू बोकेका गाडी, विमारी बोकेका गाडी र पेसेञ्जर गाडीहरु पनि समयमा जान पाएनन्। यस क्षेत्रका वाहनहरू दिनहुँ जोखिम उठाएर कुदिरहेका छन्। सडकको खराब अवस्थालाई मध्यनजर राखेर सम्बन्धित विभागद्वारा सिविटार-महानदी रोडको झट्ट मरमत्ति गरिदियोस् भनी स्थानीयहरु र चालकहरुले माग गरेका छन्।
सिविटारबाट दैनिक 7-8 वटा गाडी विद्यार्थीहरुलाई लिएर कुद्ने गरेको र अन्य पेसेञ्जर गाडीहरु लगाएर दैनिक 14-15 वटा गाडीहरु कुद्ने गरेका छन्। यसका साथै यहाँ पर्यटकहरु लिएर आउने गाडीहरु, माल सामानहरु बोक्ने गाडीहरु, स्कुटी बाइकहरु धेरै कुद्ने गरेका छन्। तर सडकको खराब अवस्थाले दैनिक गाडी कुदाउने चालकहरुलाई धेरै हानी भइरहेको र गाडी कुदाउनभन्दा बेसी गाडीको मरमत्ति गर्न पर्ने बाध्यता रहेको बताइएको छ। अर्कातिर, कुनै पनि समय दुर्घटना हुन सक्ने खतरा पनि देखिएको छ। त्यसैले स्थानीयहरु र चालकहरुले यस रोडको झट्ट मरमत्तिको लागि सम्बन्धित विभाग र ठेकेदार समक्ष माग गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक