राज्यपाल माथुरसँग कर्नाटकका पत्रकार प्रतिनिधिमण्डलद्वारा शिष्टाचार भेट
राज्यपालसँग कर्नाटकका पत्रकारहरु


गान्तोक, १५ सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग मंगलबार लोकभवनमा कर्नाटकका वरिष्ठ पत्रकारहरूको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयको तत्वावधानमा पत्र सूचना कार्यालय (पीआईबी) द्वारा आयोजित अन्तर्राज्यीय सञ्चारमाध्यम अध्ययन भ्रमणअन्तर्गत प्रतिनिधिमण्डल सिक्किम भ्रमणमा आएको हो। भेटका क्रममा सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाको पनि उपस्थिति रहेको थियो।कर्नाटकको पत्रकार प्रतिनिधिमण्डलको नेतृत्व पीआईबीका सहायक निर्देशक मधु एम. ले गरेका थिए। सिक्किमको तर्फबाट मानस प्रतिम शर्मा उपस्थित थिए।भेटका क्रममा राज्यपाल, लोकसभा सांसद तथा वरिष्ठ पत्रकारहरूबीच विभिन्न महत्वपूर्ण विषयमा सार्थक छलफल भयो। पत्रकारहरूसँग संवाद गर्दै राज्यपाल माथुरले सिक्किम सरकारले जनहितमा सञ्चालन गरिरहेका विभिन्न महत्वपूर्ण पहलहरूबारे जानकारी गराए।राज्यपालले पर्यावरण संरक्षणप्रति सिक्किमको दृढ़ प्रतिबद्धता तथा देशकै पहिलो पूर्ण जैविक राज्यका रूपमा हासिल गरेको उपलब्धिमाथि विशेष प्रकाश पारे। उनले महिलाहरूलाई आत्मनिर्भर बनाउने तथा नीति निर्माणमा उनीहरूको सहभागिता बढाउने दिशामा राज्य सरकारले गरिरहेका प्रयासहरूबारे पनि चर्चा गरे। यसैगरी, सिक्किममा पर्यापर्यटन तथा परम्परागत चिकित्सा प्रणालीलाई प्रवर्द्धन गर्ने क्षेत्रमा अपार सम्भावना रहेको राज्यपालले बताए।प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी पहल ‘भाइब्रेन्ट भिलेज कार्यक्रम’ अन्तर्गत सिक्किमका सीमावर्ती गाउँहरूमा आधारभूत पूर्वाधार तथा नागरिक सुविधाको विकासमा भइरहेको प्रगतिबारे पनि छलफल भयो। राज्यपाल माथुरले सिक्किमको सुव्यवस्थित तथा अनुशासित यातायात व्यवस्थाको प्रशंसा गर्दै यसलाई देशका अन्य राज्यहरूका लागि अनुकरणीय उदाहरण भएको बताए।छलफलमा सहभागी हुँदै लोकसभा सांसद इन्द्रहाङ सुब्बाले प्रतिनिधिमण्डललाई सिक्किमसँग जोडिएका सम्पर्क तथा यातायातसम्बन्धी विषयमा विस्तृत जानकारी दिए। उनले केन्द्र सरकारले सिक्किमको विकास तथा राज्यको भौगोलिक चुनौतीसँग सम्बन्धित विषयलाई उच्च प्राथमिकता दिइरहेको बताए।सांसद सुब्बाले राज्यपाल माथुरको सार्वजनिक जीवनको लामो अनुभव सिक्किमका लागि अत्यन्त लाभदायक रहेको उल्लेख गर्दै उनको मार्गदर्शनमा राज्यले विकासका नयाँ आयाम हासिल गरिरहेको बताए।यस अवसरमा पत्रकारहरूले सिक्किमका विकास योजना, भौगोलिक चुनौती तथा भविष्यको विकासको मार्गचित्रसँग सम्बन्धित विभिन्न प्रश्नहरू राखेका थिए। राज्यपाल माथुरले पत्रकारहरूका प्रश्नको विस्तृत रूपमा जवाफ दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande