
गुवाहाटी, 18 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार विश्वकर्मा पूजाको अवसरमा आफ्नो पुरानो दिनका सम्झनाहरू साझा गर्दै राज्यवासीहरूलाई शुभकामना दिए।
मुख्यमन्त्रीले सोशल मिडिया पोस्टमा भने, विश्वकर्मा पूजाको पवित्र अवसरमा अतीतका केही सुनौलो यादहरू उनको मनमा फेरि जीवन्त भएका छन्। उनले बताए, पहिला विश्वकर्मा पूजाको अर्थ उनको लागि आफ्नो चिरसाथी स्कुटरलाई माला लगाएर पूजा गर्नु हुन्थ्यो। त्यो स्कुटर भेस्पा थियो जुन सङ्घर्ष कालमा उनको एकमात्र सहारा थियो।
डा. हिमन्त बिस्व सरमाले भेस्पाको पुराना दिनहरूलाई सम्झिँदै भने, स्टार्ट नहुँदा त्यसलाई अलिकति ढल्काउनु, किक हान्ने आदत अनि रिजर्भ पेट्रोलको हिसाब लगाएर यात्रा गर्नुको अनुभव भिन्नै थियो।
उनले भने, यस्ता पुराना वाहनहरू आज पनि कतिपय परिवारहरूको ग्यारेज वा स्मरणको कुनै कुनामा सङ्घर्ष अनि जीवनका अनेकौ स्मृतिहरूमा मौन गवाह भएर बसेका होलान्। समयसँगसँगै आधुनिकता आयो अनि सड़क, वाहन र जीवनशैली नै परिवर्तन भयो, तर त्यसताकका सम्झना र भावनाहरू आज पनि उनको हृदयमा जीवन्त भई बसेका छन्।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भगवान विश्वकर्मासित सबैको कर्मजीवनलाई समृद्ध बाउने कामना गर्दै समस्त राज्यवासीहरूलाई पवित्र विश्वकर्मा पूजाको हार्दिक शुभकामना दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा