
गान्तोक, 18 सेप्टेम्बर (हि.स.)। नेपाली भाषा सङ्ग्रामी तथा वरिष्ठ साहित्यकार बुद्धिमान प्रधान ‘बमप’ को निधनमा नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले गहिरो शोक व्यक्त गरेको छ। खरसाङ महकुमाको सिङ्गेल चिया बगानमा 9 सेप्टेम्बर, 1935 मा जन्मग्रहण गरेका बुद्धिमान प्रधानको 91 वर्षको उमेरमा 18 सेप्टेम्बर, 2026 को दिन निधन भएको छ। उनको निधनले सम्पूर्ण नेपालीभाषी समाजमा अपूरणीय क्षति पुग्न गएको परिषदले बताएको छ।
परिषद्का महासचिव भीम राउतले आज जारी प्रेस विज्ञप्तिमा भने, 'नेपाली भाषालाई संविधानको आठौँ अनुसूचिमा अन्तर्भुक्त गराउन बहुमूल्य योगदान पुऱ्याउनुहुने भाषा सङ्ग्रामीहरूमध्ये बमप एक हुनुहुन्छ। भाषा मान्यताको आन्दोलनलाई अघि बढाउन नेपाली साहित्य परिषद् सिक्किमको विशेष पहलमा सन् 1990 मा गान्तोकमा आयोजन भएको राष्ट्रिय स्तरको वृहत सम्मेलनमा तत्कालीन सिक्किमका मुख्यमन्त्री नरबहादुर भण्डारीको अध्यक्षतामा भारतीय नेपाली राष्ट्रिय परिषद्को गठन भएको थियो। यस संस्थाको गतिविधिलाई प्रभावकारी ढङ्गमा अघि बढाएर लैजान परिषद्द्वारा बमपलाई कार्यकारी अधिकारीको प्रमुख जिम्मेवार पदमा चयन गरेको थियो।'परिषद्ले भाषा आन्दोलनबारे जनचेतना जगाउन राष्ट्रिय स्तरको ‘आधार’ प्रकाशित गर्न आरम्भ गरेको थियो, जसमा बमपले कार्यकारी सम्पादकको कुशल भूमिका निर्वाह गरेको पनि जानकारी गराइएको छ। परिषद्ले भनेको छ, 'भाषा आन्दोलनको अभियानमा पूर्वोत्तर राज्यलगायत सम्पूर्ण भारतभरि छरिएर बसेका नेपालीभाषी बुद्धिजीवीवर्ग, लेखक एवम् साहित्यकारहरूलाई एकै सूत्रमा जोड्नमा बमपले उल्लेखनीय भूमिका निर्वाह गरेको थियो। यसअघि भाषा मान्यताको आन्दोलनलाई अघि बढाउन गठन भएको अखिल भारतीय नेपाली भाषा समितिको अभियानमा पनि बमपले आफूलाई समर्पित गर्नुभएको थियो।'
भारतीय गोर्खा परिसंघद्वारा अध्यक्ष दिलकुमारी भण्डारीको नेतृत्त्वमा भारतको संसदमा स्वतन्त्रता सेनानी शहीद दुर्गा मल्लको मूर्ती स्थापना गर्ने ऐतिहासिक कार्य भयो, जसमा बमपको भूमिका उल्लेखनीय रहेको बताइएको छ। अस्सीको दशकमा दार्जिलिङमा सुत्रपात भएको माटोको आन्दोलन होस् या नेपाली भाषा मान्यताको आन्दोलन होस्, उनले सदैव अग्रिम पंक्तिमा उभिएर निष्ठापूर्वक भूमिका निर्वाह गरेकाले भारतीय नेपाली भाषीहरूमाझ उनी चिरस्मरणीय रहने परिषदले बताएको छ।
परिषद्ले अझ भनेको छ, 'बमपले पत्रकारिताको क्षेत्रमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ। उहाँले नेपाली दैनिक समाचारपत्र ‘सुनचरी’ लाई लोकप्रियताको शिखरसम्म पुऱ्याउन उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो। साहित्य क्षेत्रलाई उहाँले धेरै उपयोगी कृतिहरू दिएर समृद्ध तुल्याउने कार्य गर्नुभएको छ। उहाँका कालजयी सुकर्महरूको सम्मान एवम् कदर गर्दै सिक्किमबाट अर्चना प्रकाशनद्वारा पूर्व लोकसभा सांसद दिलकुमारी भण्डारीको विशेष पहलमा ‘भानेराप-भागोप सेनानी बुद्धिमान प्रधान ‘बमप’ अभिनन्दन ग्रन्थ प्रकाशित गरेको छ।'
नेपाली साहित्य परिषद् सिक्किमले नेपालीभाषी समाजमा बमपद्वारा पुऱ्याइएको योगदानको सदैव सम्झना गर्नेछ भन्दै उनको आत्मालाई चिर शान्ति मिलोस् भन्ने कामनासहित हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ। परिषद्ले उनका परिवारका सम्पूर्ण सदस्यप्रति परिषद् हार्दिक समवेदना प्रकट गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल