पहिलो चिकित्सा महाविद्यालयबाट सिक्किममा चिकित्सा शिक्षाको नयाँ अध्याय शुरू हुॅंदै, आज पहिलो एमबीबीएस समूहको श्वेत कोट समारोह
हेलेन लेप्चा सिक्किम गभर्नमेन्ट मेडिकल कलेज


गान्तोक, १८ सेप्टेम्बर (हि.स.)। सिक्किमको स्वास्थ्य क्षेत्रको इतिहासमा आज महत्वपूर्ण अध्याय थपिँदैछ। राज्यको पहिलो चिकित्सा महाविद्यालय 'हेलेन लेप्चा सिक्किम गभर्नमेन्ट मेडिकल कलेज' ले आजदेखि औपचारिक रूपमा आफ्नो शैक्षिक यात्रा अघि बढाउने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा उद्घाटन गरिएको सिक्किमको पहिलो चिकित्सा महाविद्यालय गान्तोकनजिकै सोच्यागाङ, सिच्छेमा अवस्थित छ।

सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले आज चिकित्सा महाविद्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ। दुवैजनाले महाविद्यालयको पूर्वाधार तथा विभिन्न सुविधाको निरीक्षण गर्नेछन्। कार्यक्रमका क्रममा राज्यपाल र मुख्यमन्त्रीले संयुक्त रूपमा हेलेन लेप्चाको अर्धकदको प्रतिमा तथा चिकित्सा महाविद्यालयको लोगोको अनावरण गर्नेछन्।

कार्यक्रमको दोस्रो चरण गान्तोकस्थित मनन केन्द्रमा आयोजना हुनेछ। यहाँ सिक्किमको पहिलो चिकित्सा महाविद्यालयका पहिलो समूहका एमबीबीएस विद्यार्थीहरूको श्वेत कोट समारोह आयोजना गरिनेछ। समारोहमा मुख्यमन्त्री तामाङ र राज्यपाल माथुरको पनि सहभागिता रहनेछ।

सिक्किमको पहिलो चिकित्सा महाविद्यालयको पृष्ठभूमि:'हेलेन लेप्चा सिक्किम गभर्नमेन्ट मेडिकल कलेज' सिक्किम राज्यमा स्थापना भएको पहिलो सरकारी चिकित्सा महाविद्यालय हो। राज्यको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको इतिहासमा यसको स्थापना महत्वपूर्ण कोसेढुङ्गाका रूपमा रहेको छ। भारत सरकार र सिक्किम सरकारको संयुक्त पहलमा स्थापना गरिएको यस महाविद्यालयको मुख्य उद्देश्य राज्यमा सर्वसुलभ तथा गुणस्तरीय चिकित्सा शिक्षा उपलब्ध गराउनुका साथै स्वास्थ्य सेवाको पूर्वाधार र क्षमता सुदृढ गर्नु हो।

राजधानीनजिकै सोच्यागाङ, सिच्छे क्षेत्रमा अवस्थित यस महाविद्यालयलाई एसटीएनएम अस्पतालसँग सम्बद्ध गरिएको छ, जहाँ विद्यार्थीहरूले व्यावहारिक तथा चिकित्सकीय प्रशिक्षण प्राप्त गर्नेछन्। महाविद्यालयले २०२६-२७ को शैक्षिक सत्रदेखि वार्षिक १०० जना एमबीबीएस विद्यार्थी भर्ना गरेर आफ्नो शैक्षिक यात्रा शुरु गर्ने बताइएको छ। पहिलो समूहका विद्यार्थीको आगमनसँगै सिक्किम आफ्नै सरकारी चिकित्सा शिक्षा प्रणाली भएको नयाँ चरणमा प्रवेश गरेको छ।

यस महाविद्यालयको नाम सिक्किमकी प्रसिद्ध स्वतन्त्रता सेनानी हेलेन लेप्चा, जसलाई सावित्री देवीका नामले पनि चिनिन्थ्यो, उनको सम्मानमा राखिएको हो। दक्षिण सिक्किमको सङ्गमूमा जन्मेकी हेलेन लेप्चा स्वतन्त्रता आन्दोलनमा सक्रिय रूपमा सहभागी बनेकी थिइन्। उनको देशभक्ति, साहस, त्याग तथा समाजसेवाको योगदानलाई सम्मान गर्दै राज्य सरकारले चिकित्सा महाविद्यालयको नाम उनकै नाममा राखेको हो।

सिक्किममा सरकारी चिकित्सा महाविद्यालय स्थापना गर्ने पहल राज्यमा लामो समयदेखि आवश्यकताका रूपमा रहेको थियो। आफ्नै चिकित्सा महाविद्यालय स्थापना भएपछि राज्यका विद्यार्थीहरूले चिकित्सा शिक्षा हासिल गर्न अन्य राज्यमा जानुपर्ने निर्भरता कम हुने अपेक्षा गरिएको छ। यसले राज्यमा दक्ष चिकित्सक जनशक्ति उत्पादन गर्नुका साथै भविष्यमा स्थानीय स्वास्थ्य आवश्यकताअनुसार विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी तयार पार्न पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande