दरामदिनमा प्रधानमन्त्री सूक्ष्म खाद्य प्रशोधन उद्यम औपचारिकीकरण योजनाबारे सचेतना कार्यक्रम
दरामदिनमा प्रधानमन्त्री सूक्ष्म खाद्य प्रशोधन उद्यम औपचारिकीकरण योजनाबारे सचेतना कार्यक्रम


दरामदिन, १८ सेप्टेम्बर (हि.स.)। स्थानीय उद्यमी, स्वयं सहायता समूह तथा खाद्य प्रशोधन क्षेत्रमा सम्भावित लाभार्थीहरूलाई प्रधानमन्त्री सूक्ष्म खाद्य प्रशोधन उद्यम औपचारिकीकरण योजना (पीएमएफएमई) अन्तर्गत उपलब्ध अवसर तथा सहयोगबारे जानकारी गराउने उद्देश्यले बिहीबार सोरेङ जिल्लाको दरामदिनस्थित खण्ड प्रशासनिक केन्द्रमा सचेतना कार्यक्रम आयोजना गरियो।

कार्यक्रममा खण्ड विकास अधिकारी अनुशिया प्रधान मुख्य अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा पञ्चायत सदस्यहरू, स्वयं सहायता समूह, स्थानीय प्रगतिशील उद्यमीहरूको, किसान उत्पादक सङ्गठन, सहकारी संस्था तथा सम्भावित उद्यमीसहित करिब १०० जनाले कार्यक्रममा सहभागिता जनाएको खाद्य प्रशोधन उद्योग विभागले बताएको छ।

खाद्य प्रशोधन उद्योग विभागका एसएलपीएम छान्जे भोटियाले पीएमएफएमई तथा प्रधानमन्त्री किसान सम्पदा योजनाबारे जानकारी दिँदै सूक्ष्म खाद्य प्रशोधन उद्यमलाई योजनामार्फत वित्तीय सहायता, क्षमता विकास तथा बजार प्रवर्द्धनमा सहयोग उपलब्ध हुने बताए। यसबाट आयआर्जनका अवसर विस्तार हुनुका साथै दिगो जीविकोपार्जनमा सहयोग पुग्ने उनले बताए।

सोरेङ तथा गेजिङका विभागीय जिल्ला संयोजक नवीन शर्माले खाद्य प्रशोधन तथा मूल्य अभिवृद्धिबारे जानकारी दिँदै उत्पादनको गुणस्तर, उपभोक्ताको विश्वास तथा बजार स्वीकृतिको महत्त्वबारे प्रकाश पारे। प्रशोधित खाद्य उत्पादनमा मूल्य अभिवृद्धिले आर्थिक मूल्य, गुणस्तर, सुविधा, भण्डारण अवधि तथा बजारयोग्यता बढाउने उनले बताए।

विभागका जिल्ला संयोजक चिन्लोप लेप्चाले प्रशोधित खाद्य उत्पादनको प्याकेजिङ तथा लेबलिङको महत्त्वबारे जानकारी दिँदै स्थानीय उद्यमीले भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणको मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने बताए।

एसबीआई, सोरेङ जिल्लाका एलडीएम मलय कुमार विश्वासले ब्याङ्किङ वित्त, ऋण आवेदन प्रक्रिया, आवश्यक कागजात, सरकारी योजनाबीचको समन्वय तथा ऋणसम्बन्धी अनुशासनबारे जानकारी दिए। यसैगरी, ऋण पहुँच तथा सहजीकरण एकाइका वरिष्ठ अधिकारी आशिष गुरुङले वित्तीय साक्षरता, ऋणसँग जोडिएको सहयोग तथा प्रगतिशील उद्यमीलाई उपलब्ध अन्य सहजीकरण सेवाबारे जानकारी गराए।

कार्यक्रममा पीएमएफएमई योजनाअन्तर्गत वित्तीय सहयोगमा मात्र सीमित नभई शुरुदेखि अन्तिम चरणसम्म उपलब्ध सहजीकरणबारे जानकारी दिइएको थियो। सहभागीलाई अनलाइन आवेदन भर्ने, आवश्यक कागजात अपलोड गर्ने, आवेदन प्रक्रिया अघि बढाउनेदेखि प्रशोधन, मूल्य अभिवृद्धि, प्याकेजिङ, ब्रान्ड निर्माण, बजार प्रवर्द्धन तथा बजारसँग जोडिनेसम्म विभिन्न चरणमा सहयोग उपलब्ध हुने जानकारी गराइयो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande