नन्दीग्राम उपचुनाउः कङ्ग्रेस उम्मेदवार मिलन प्रधानले जेलबाटै चुनाउ लड़्ने
नन्दीग्राम उपचुनाउः कङ्ग्रेस उम्मेदवार मिलन प्रधानले जेलबाटै चुनाउ लड़्ने


मेदिनीपुर, 20 सेप्टेम्बर (हि.स.)। नन्दीग्राम विधानसभा उपचुनाउ हुन अगावै कङ्ग्रेस उम्मेदवार मिलन प्रधानलाई पक्राउ गरिएको घटनाले राजनीतिक हावा तातिएको छ। गत शुक्रवार पक्राउपछि उनलाई हल्दिया अदालतले 14 दिनको न्यायिक हिरासतमा पठाइदिएको छ। आगामी 6 अक्टोबरका दिन नन्दीग्राममा मतदान हुनेछ। यसबीच कङ्ग्रेसले भनेको छ, पार्टी उम्मेद्वारले जेलबाटै आफ्नो लड़ाईँलाई जारी राख्नेछन्।

गए शनिवार मिलन प्रधानलाई हल्दिया अदालतमा पेश गरियो। अदालतले उनलाई 14 दिनको न्यायिक हिरासतमा पठाइदियो। सोमवार उनलाई अर्को मामिलामा कान्थी अदालतमा पेश गरिनेछ। त्यसैले मतदानको दिनसम्म पनि उनी जेलबाट रिहा हुने सम्भावना न्यून रहेको बताइएको छ।

अदालत परिसरमा प्रदेश कङ्ग्रेस अध्यक्ष शुभङ्कर सरकार पनि उपस्थित थिए। उनले आरोप लगाए, चुनाउपूर्व पुलिसलाई प्रयोग गरी कङ्ग्रेस उम्मेद्वारलाई पक्राउ गरिएको छ। पार्टीले राजनीतिक अनि कानूनी दुवै स्तरमा आफ्नो लड़ाईँलाई कायम राख्नेछ।

प्रदेश कङ्ग्रेस अध्यक्षले दाबी गरे, जुन मानिसहरूको हत्या गरेको आरोप लगाइएको छ, उनीहरूका परिवारहरूको पक्षबाट कुनै सिकायत गरिएको छैन। उनले यो पनि आरोप लगाे, मामिलामा सूचीवद्ध अन्य मानिसहरूलाईपक्राउ गरिएको छैन। कङ्ग्रेसले यस पक्राउको पछाड़ि राजनीतिक उद्देश्य रहेको आरोप लगाएको छ।

पुलिस अनुसार 2007 सालको नन्दीग्राम आन्दोलन कालमा सोनाचुड़ा ग्राम पञ्चायतको गाङ्गड़ा निवासी मिलन प्रधानविरूद्ध खेजुरी थानामा एउटा अनि नन्दीग्राम थानामा तीन वटा प्राथमिकी दर्ता भएको थियो जसमा हत्या, हत्या गर्ने प्रयास तथा अपहरण सहित केही गैर-जमानती धाराहरू सामेल छन्।

पुलिसको दाबी छ, यी मामिलाहरूमा अदालतले पहिला नै उनीविरूद्ध गैर-जमानती वारन्ट जारी गरेको थियो। उनी पछिल्लो 19 वर्षदेखिको भागेका थिए। चुनाउ आयोगको निर्देश अनुरूप सोही वारन्ट अन्तर्गत उनलाई पक्राउ गरिएको हो।

मिलन प्रधानका वकिल विमल माझीले आरोप लगाए, 19 साल पुरानो मामिलालाई फेरि सक्रिय बनाएर उनलाई पक्राउ गरिएको छ। उनको भनाइ छ, पुलिसको निगरानीमै मिलनले नन्दीग्राम उपचुनाउको लागि नामाङ्कन दर्ता गरेका थिए। त्यसबेला उनलाई किन पक्राउ गरिएन, यो प्रश्न पनि छ। अर्कोतिर सरकार पक्षका अधिवक्ता विजय रामले भने, मिलन प्रधान धेरै वर्षदेखिको भागेका थिए, त्यसैले उनलाई पक्राउ गर्नमा ढिल्याई भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande