
काठमाडौं, २३ सेप्टेम्बर (हि.स.)। अमेरिकाले नेपालमा आएको बाढीपछि पुनर्स्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहायता दिने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिला उपसचिव एलिसन हुकरले न्यूयोर्कमा नेपालका विदेशमन्त्री शिशिर खनालसँग भएको भेटवार्ताका क्रममा उक्त घोषणा गरेकी हुन्।
भेटका क्रममा हुकरले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा अझै बेपत्ता रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति समवेदना व्यक्त गरिन्। अमेरिकाले प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनर्स्थापना तथा क्षेत्रीय सम्पर्क सुदृढ गर्न १० मिलियन डलर मूल्यका स्थायी तथा आवश्यकताअनुसार जडान गर्न सकिने पुल उपलब्ध गराउने घोषणा गरेको छ। यी पुल अमेरिकी कम्पनीहरूबाट खरिद गरिनेछन्।
यसैगरी, प्रभावित समुदायका लागि खानेपानी, सरसफाई, आश्रय, संरक्षण, जीविकोपार्जन तथा जाडोयामका लागि आवश्यक सामग्रीलगायत विभिन्न क्षेत्रमा थप ८ मिलियन डलर उपलब्ध गराउने योजना रहेको छ। बाढीपछि विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अमेरिकामा निर्मित ड्रोन उपलब्ध गराउन १३ मिलियन डलर खर्च गर्ने योजना पनि घोषणा गरिएको छ।
यस घोषणासँगै नेपालमा बाढीपछि राहत तथा पुनर्स्थापनाका लागि अमेरिकाको कुल सहायता ३६ मिलियन डलरभन्दा बढी पुगेको छ। अमेरिकी दूतावासले यसबारे जानकारी दिएको हो। अमेरिकाले नेपाल सरकारसँग सहकार्य गर्दै आवश्यकताको मूल्याङ्कन गर्ने तथा आवश्यकताअनुसार थप सहायता उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल