
न्युयोर्क, २३ सेप्टेम्बर (हि.स.)। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले संयुक्त राष्ट्र महासभामा कडा सम्बोधन गर्दै गाजा र कब्जामा रहेको वेस्ट ब्याङ्कमा इजरायलको कारबाहीको निन्दा गरेपछि इजरायली प्रतिनिधिमण्डलले विरोधस्वरूप सभाबाट बहिर्गमन गरेको छ। यस क्रममा प्यालेस्टिनी प्रतिनिधिहरूले भने ताली बजाएर एर्दोगनको सम्बोधनको स्वागत गरे।
एर्दोगनले गाजामा इजरायलबाट लगातार भइरहेका युद्ध अपराध तथा कब्जामा रहेको वेस्ट व्याङ्कमा बस्तीका बासिन्दाबाट भइरहेका आक्रमण र हिंसा बढ्दै गएको विषय उठाए।
अल जजीराको रिपोर्टअनुसार उनले भने, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा हामीले युद्धविराममा योगदान गरेका थियौँ। तर यस कथित युद्धविरामका बावजुद गाजामा १ हजार ३०० भन्दा बढी सर्वसाधारण मारिएका छन्।”
उनले हमास तथा अन्य प्यालेस्टिनी समूहले अक्टोबरको युद्धविराम सम्झौताको दोस्रो चरण स्वीकार गरिसकेको भए पनि इजरायलले गाजामा आफ्नो कारबाही नरोकिरहेको बताए।
एर्दोगनले भने, “हामी यस्तो नरसंहारकारी मानसिकताको सामना गरिरहेका छौँ, जसलाई रक्तपातले कहिल्यै पुग्दैन। मानवता, करुणा वा विवेक भएको कुनै पनि व्यक्तिले यसबाट आँखा चिम्लन सक्दैन।”
एर्दोगनले संयुक्त राष्ट्रको पनि आलोचना गर्दै द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति र स्थिरता कायम गर्ने आफ्नो जिम्मेवारी पूरा गर्न संयुक्त राष्ट्र असफल भएको बताए। उनले भने, “८१ वर्षअघि विश्वमा शान्ति र स्थिरता कायम गर्न संयुक्त राष्ट्रको स्थापना गरिएको थियो, तर दुःखको कुरा संयुक्त राष्ट्र आफ्नो कर्तव्य पूरा गर्न असफल भएको छ।”
एर्दोगनले संयुक्त राष्ट्र प्रभावहीन बनेको दाबी गर्दै प्यालेस्टाइन, लेबनान र सुडानमा यसको अवस्था निकै कमजोर भएको बताए।
विश्वका नेताहरूको संयुक्त राष्ट्र बैठकमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको अनुपस्थितिको विषय पनि एर्दोगनले उठाए। अमेरिकाले प्यालेस्टिनी नेतालाई आफ्नो देश प्रवेशका लागि भिसा दिन अस्वीकार गरेको कारण अब्बास महासभामा उपस्थित हुन सकेनन्। यस्तो घटना दुई वर्षमा दोस्रोपटक भएको बताइएको छ।
एर्दोगनले भने, “राष्ट्रपति अब्बास आज हामीसँग यहाँ उपस्थित नभए पनि हामी प्यालेस्टाइनलाई स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा मान्यता दिन्छौँ र उसको आवाज उठाइरहनेछौँ।”
टर्कीका राष्ट्रपतिले युक्रेनमाथि रुसको युद्धको विषय पनि उठाउँदै अब यो द्वन्द्व अन्त्य गर्ने समय आएको बताए। उनले युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमिकता कायम राख्दै रुस-युक्रेन युद्ध अन्त्य गरिनुपर्ने बताए।
हिन्दुस्थान समाचार / बिशाल