
-मातेर वाहन हाँक्नेहरूविरूद्ध बितेको राति राजमार्गमा कड़ा कारबाही गरियो
बङ्गाई गाउँ (असम), 24 सितम्बर (हि.स.)। आगामी दुर्गा पूजालाई मध्यनजर गर्दै सड़क सुरक्षा सुनिश्चित गर्न तथा मातेर वाहन हाँक्नेहरूविरूद्ध बङ्गाई गाउँ पुलिस एवं परिवहन विभागले संयुक्त रूपमा व्यापक अभियान आरम्भ गरेको छ। जिल्लाका विभिन्न प्रमुख मार्गहरूमा गए बुधवार राती जिल्ला वरिष्ठ पुलिस अधीक्षक नोमल माहत्ताको नेतृत्वमा यो अभियान चलाएको हो।
अभियान अवधि वाहन चालकहरूको विशेष जाँच गरियो भने मातेर वाहन हाँक्नेहरूविरूद्ध कानून अनुसार कारबाही गरियो। अभियानको उद्देश्य दुर्गा पूजामा सड़क दुर्घटनाहरूमाथि नियन्त्रण गर्नु तथा आम मानिसहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नु हो।
अभियानमा जिल्ला दण्डाधिकारी एवं जिल्ला परिवहन अधिकारी पनि उपस्थित थिए। प्रशासनद्वारा पूजा अवधि यातायात नियमहरूको उल्लङ्घन गर्ने अनि मातेर वाहन चलाउनेहरूविरूद्ध यस किसिमको कारबाहीलाई जारी राख्ने बताइएको छ।
जिल्ला वरिष्ठ पुलिस अधीक्षक नोमल माहत्ताले बताए, मुख्यमन्त्रीको निर्देशानुसार मातेर वाहन चलाउने तथा सड़क सुरक्षा नियमहरूको उल्लङ्घन गर्नेहरूविरूद्ध यो अभियान चलाइएको हो। उनले भने, पूजाको समयमा कुनै पनि व्यक्तिले नशामा वाहन चलाएर आफू सहित अन्य मानिसहरूको ज्यानलाई जोखिममा नपारोस् भन्ने ध्येयले पुलिसद्वारा कड़ा कदम उठाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा