
काठमाडौं, २७ सेप्टेम्बर (हि.स.)। नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवासम्बन्धी पासपोर्ट धारकहरूलाई भिसा छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ।
नेपालको विदेश मन्त्रालयका अनुसार, संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा न्युयोर्कमा आयोजित एक साइडलाइन कार्यक्रममा नेपालका विदेशमन्त्री शिशिर खनाल र बेलारुसका विदेशमन्त्री म्याक्सिम रिजेन्कोभले दुवै सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौतामा हस्ताक्षर गर्नुअघि दुवै विदेशमन्त्रीबीच सौहार्दपूर्ण भेटवार्ता भएको थियो। भेटका क्रममा दुवै देशका आपसी हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भयो।
बैठकमा नेपाल-बेलारुसबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा श्रम, शिक्षा, व्यापार, लगानी र जनस्तरको सम्बन्धलगायत विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
हिन्दुस्थान समाचार / बिशाल