
काठमाडौं, २७ सेप्टेम्बर (हि.स.)। नेपालमा कालीगण्डकी नदीको तीव्र बहावले स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पुल बगाएको छ। उक्त पुल मिर्मी बाँधस्थलभन्दा तल रहेको थियो।
नेपाल विद्युत् प्राधिकरणको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा कार्यरत विष्णुप्रसाद न्यौपानेका अनुसार, कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँधस्थलमा पानीको बहाव बढेपछि पुल बाढीको चपेटामा परेको हो।
गुल्मीका पुलिस प्रमुख एसपी भीमकिरण बोगटीले पनि पुल बगेको पुष्टि गरेका छन्। उनका अनुसार, उक्त पुल फलामे पुल थियो र त्यसबाट चारचक्के सवारीसाधन आवतजावत गर्ने गरेका थिए।
आइतबार बिहान करिब ६ बजी बाढीको तीव्र बहावले पुल बगाएको हो। पुल बगेपछि मिर्मी र हर्मिचौरबीचको यातायात तथा आवतजावत प्रभावित भएको छ।