कोरम नपुग्दा रामनगरको पदिमा-2 पञ्चायत बोर्ड गठनको बैठक स्थगित
कोरम नपुग्दा रामनगरको पदिमा-2 पञ्चायत बोर्ड गठनको बैठक स्थगित


पूर्व मेदिनीपुर, 03 सेप्टेम्बर (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको रामनगर-एक खण्ड अन्तर्गत पदिमा-2 ग्राम पञ्चायतमा कोरम पूरा नभएको कारण पञ्चायत बोर्ड गठनको बैठकलाई स्थगित गरियो। पञ्चायतका 16 वटा सीटमध्ये 13 वटामा तृणमूल कङ्ग्रेस र 03 वटामा भाजपाको कब्जा रहेको छ। राज्यमा सत्ता परिवर्तन भएपछि पञ्चायत प्रधान र उपप्रधान सहित तृणमूल कङ्ग्रेसका प्रतिनिधिहरूले राजनीमा दिएका कारण पञ्चायतमा गतिरोधको स्थिति उत्पन्न भएको छ।

ब्लक प्रशासनले पञ्चायत बोर्ड पुनर्गठन गर्नको लागि गए बुधवार विशेष बैठक डाकेको थियो। तर बैठकमा तृणमूल कङ्ग्रेसका 13 जना सदस्यहरूमध्ये एकजना पनि उपस्थित भएनन् भने अर्कोतिर भाजपाको पनि एकजना सदस्य अनुपस्थित रहे। निर्धारित सङ्ख्यामा सदस्यहरू उपस्थित नभएका कारण कोरम पूरा हुन सकेन अनि बैठकलाई स्थगित गर्नुपऱ्यो।

रामनगर-एकका खण्ड विकास अधिकारी शुभाशिष मजुमदारले बताए, केही दिनभित्रमा पञ्चायत बोर्ड गठन गर्नको लागि फेरि बैठक डाकिनेछ।

यसबीच एगराको पानीपारुल ग्राम पञ्चायतमा भाजपाले कुनै प्रतिद्वन्द्विता बिनै बोर्ड गठन गरेको छ।

23 सदस्यीय पानीपारूल पञ्चायतमा तृणमूल कङ्ग्रेसका 15 अनि भाजपाका 08 जना सदस्यहरू छन्। पञ्चायत प्रधान रञ्जिता प्रधानले अचानक राजीनामा दिएपछि त्यहाँ पनि गतिरोध उत्पन्न भएको थियो। बुधवार बोर्ड गठनको लागि विशेष बैठक बोलाइएको थियो। बैठकमा तृणमूलका कुनै पनि सदस्य उपस्थित भएनन्। त्यसपछि भाजपाकी सुतपा पण्डितलाई नयाँ प्रधान निर्वाचन गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande