
गान्तोक, ३० सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किम एकाइको उच्चस्तरीय प्रतिनिधिमण्डलले राज्य श्रम विभागका अधिकारीहरूसँग भेट गरी केन्द्र सरकारका कल्याणकारी योजनाहरूको कार्यान्वयन तथा राज्यका विशेष संवैधानिक सुरक्षाको संरक्षणका विषयमा विस्तृत छलफल गरेको छ।
भाजपा प्रतिनिधिमण्डलमा राज्य सचिव तथा श्रमिक मोर्चा प्रभारी साङ्गे पलजर, श्रमिक मोर्चाका अध्यक्ष बीबी सुब्बा र राज्य प्रवक्ता साङ्गे ग्यात्सो भोटिया सहभागी थिए।
प्रतिनिधिमण्डलले श्रम विभागका सचिव भीम ठटाल, श्रम आयुक्त शिरोमणि न्योपाने र श्रम विभागका उपआयुक्त सोनाम पिन्चो लेप्चासँग भेट गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
भेटका क्रममा श्रमिक वर्गका लागि भारत सरकारले घोषणा गरेका कल्याणकारी योजना तथा आर्थिक प्रोत्साहनको प्रभावकारी कार्यान्वयन र अधिकतम उपयोगबारे छलफल भएको बताइएको छ। विशेषगरी ई-श्रम तथा प्रधानमन्त्री श्रम योगी मानधन योजनालगायतका विषयमा छलफल गरिएको बताइएको छ।
श्रम तथा रोजगार मन्त्रालय, भारत सरकारद्वारा घोषणा गरिएका नयाँ श्रम संहिता तथा राष्ट्रिय करियर सेवा मञ्च, रोजगार मार्गदर्शन तथा प्रवर्द्धन केन्द्रका सकारात्मक र नकारात्मक पक्षबारे पनि छलफल भएको जनाइएको छ।
भाजपा प्रतिनिधिमण्डलले राष्ट्रिय योजनाअन्तर्गत निर्माण गरिने कुनै पनि नयाँ ऐन, नियम वा प्रशासनिक निर्देशिकाले भारतीय संविधानको धारा ३७१एफ अन्तर्गत सिक्किमलाई प्राप्त विशेष प्रावधानको उल्लङ्घन वा क्षयीकरण गर्न नहुने विषय विभागीय अधिकारीसमक्ष स्पष्ट रूपमा राखेको जनाएको छ।
प्रतिनिधिमण्डलको चासोप्रति प्रतिक्रिया दिँदै विभागीय अधिकारीहरूले श्रम विभाग कानुन विभाग तथा अन्य सम्बन्धित राज्य निकायसँग निकट समन्वयमा काम गरिरहेको र निरन्तर सम्पर्कमा रहेको जानकारी दिएको भाजपाले जनाएको छ। संवैधानिक प्रावधानको पालना सुनिश्चित गर्न सबै कानुनी पक्षको सावधानीपूर्वक समीक्षा भइरहेको तथा राज्यका विशेष आवश्यकतासम्बन्धी जानकारी भारत सरकारको श्रम मन्त्रालयसमक्ष प्रत्यक्ष रूपमा पठाइरहेको विभागीय अधिकारीहरूले बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल