
बाँदा, ३० सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको बाँदा जिल्ला स्थित नरैनी थाना क्षेत्रमा गणेश उत्सवका क्रममा किशोरीसित दुष्कर्म गरेको आरोपमा फरार रहेका दुई आरोपीलाई पुलिसले महाराजपुर पेट्रोल पम्प नजिकबाट पक्राउ गरेको छ। उनीहरूले दिएको जानकारीको आधारमा घटनामा प्रयोग गरिएको मोटरसाइकल पनि जफत गरिएको छ।
पुलिस अनुसार, पीड़ितका पिताले दिएको उजुरीका आधारमा दुई पूर्वपरिचित युवक विरुद्ध पोक्सो एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। घटना भएदेखि नै पुलिसले दुवै आरोपीको खोजी गरिरहेको थियो।
मंगलवार साँझ पुलिसले मध्य प्रदेशको पन्ना जिल्लाको अजयगढ़ थाना क्षेत्र अन्तर्गत पिस्ता गाउँका रामहित र उमेश उर्फ सज्जनलाई नरैनी क्षेत्रको महाराजपुर पेट्रोल पम्प नजिकबाट पक्राउ गरेको हो। पुलिसले घटनामा प्रयोग गरिएको दुईचक्के सवारीसाधन पनि जफत गरेको छ।
नरैनीका क्षेत्राधिकारी प्रवीण कुमारले मुद्दा दर्ता भएपछि आरोपीहरूको गिरफ्तारीका लागि पुलिस टोली गठन गरिएको बताए। दुवै आरोपीलाई पक्राउ गरिसकिएको र उनीहरूलाई अदालत समक्ष पेश गरिँदै गरेको उनले जानकारी दिए। घटनामा थप कानूनी कारबाही जारी रहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी