
काठमाडौं, ०४ सेप्टेम्बर (हि.स.)। नेपालका रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको १० दिनपछि त्रिशूली-३ए जलविद्युत् पनियोजनाको सुरुङबाट मेकानिकल इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार गरिएको छ। सुरुङभित्र फसेका बेला सञ्जयले हरेक परिस्थितिको सामना गर्दै लगातार ‘हरे कृष्ण महामन्त्र’ जप गरिरहे।
उद्धारपछि सञ्जयले सुरुङभित्रको अवस्थाबारे उद्धार टोलीलाई महत्वपूर्ण जानकारी दिएका छन्। उनका अनुसार, दुर्घटना भएको समयमा सुरुङभित्र करिब ४० देखि ४५ जना मानिस रहेका थिए। सञ्जय साहका अनुसार, त्रिशूली-३ए परियोजनाको कन्ट्रोल रुममा सामान्य अवस्थामा एक जना अपरेटरले काम गर्छन् भने बाँकी समयमा त्यहाँ करिब चार-पाँच जना मात्र रहने गर्छन्। तर दुर्घटनाको समयमा त्यहाँ करिब ४० देखि ४५ जना मानिस जम्मा भएका थिए।
कन्ट्रोल रुमको जिम्मेवारी सञ्जयसँग थियो। उनले यति ठूलो दुर्घटनापछि आफू एक्लै बाहिर निस्कन सम्भव नभएको बताए। उनले त्यहाँ रहेका मानिसहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेका थिए। मानिसहरूलाई बचाउने प्रयासमा उनको धेरै समय बितेको थियो।
उद्धार टोलीले सञ्जयलाई सुरुङभित्र अझै कति मानिस फसेका हुन सक्ने अनुमान छ भनेर पनि सोधेको थियो। सञ्जयले आफू फसेको स्थान आसपास करिब तीन-चार जना मानिस रहेको बताए। यद्यपि सुरुङ निकै लामो भएकाले पावर हाउसतर्फ पनि केही मानिस हुन सक्ने उनले बताए।
उनले तीव्र गतिमा आएको पानीका कारण केही मानिस सुरुङभित्रै फसेको हुन सक्ने आशंका व्यक्त गरे। सञ्जयले भने, “सुरुङ निकै लामो छ। पानीको तीव्र बहावका कारण केही मानिसभित्र फसेका हुन सक्छन्।”
१० दिनसम्म सुरुङभित्र रहँदा सबैभन्दा ठूलो सहारा के थियो भन्ने प्रश्नमा उनले लगातार ‘हरे कृष्ण महामन्त्र’ जप गरिरहेको बताए। सञ्जयले भने, “म पूरै समय महामन्त्र जप गरिरहेको थिएँ। हरे कृष्ण महामन्त्र।” उद्धार टोलीले पनि सञ्जयलाई उनले दोस्रो जीवन पाएको बताएको थियो। उनका लागि सुरुङबाट बाहिर निस्कनु नयाँ जीवनको शुरुवातभन्दा कम थिएन।
दोस्रो जीवन पाएको कथा
बाढीपछि जीवनको आशा निकै कठिन देखिएको त्यही सुरुङबाट सञ्जय साह १० दिनपछि जीवितै बाहिर निस्किए। उनको कथा सफल उद्धार अभियानको कथा मात्र होइन, कठिन परिस्थितिका बीच उनले कायम राखेको धैर्य र आशाको कथा पनि हो।
सञ्जयका अनुसार, कठिन ती दिनहरूमा ‘हरे कृष्ण महामन्त्र’ को जपले उनलाई मानसिक रूपमा ठूलो सहारा दिएको थियो। अन्ततः १० दिनपछि उद्धार टोली उनलाई सुरुङबाट सुरक्षित बाहिर निकाल्न सफल भयो।
हिन्दुस्थान समाचार / बिशाल