
काठमाडौं, 0४ सेप्टेम्बर (हि.स.)। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीलाई शुभकामना दिँदै विपत्ति र चुनौतीहरूले मानिसको धैर्य तथा कर्मको परीक्षा लिने बताएका छन्।
प्रधानमन्त्री शाहले शुक्रबार फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै कठिन परिस्थितिमा पूर्ण निष्ठाका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्नु नै भगवान् श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग बताएका छन्।
उनले लेखेका छन्, “विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्। यस्तो समयमा पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निर्वाह गर्नु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो।”
प्रधानमन्त्री शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबै देशवासीलाई आफ्नो कर्तव्यको मार्गमा अडिग रहन धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्।
नेपाल प्राकृतिक विपत्तिबाट प्रभावित भइरहेका बेला प्रधानमन्त्री शाहको यस्तो सन्देश आएको हो। प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य निरन्तर जारी रहेको छ।
हिन्दुस्थान समाचार / बिशाल