मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा खरसाङमा प्रशासनिक बैठक
खरसाङमा प्रशासनिक बैठक


खरसाङ, 26 अक्टोबर (हि.स.)। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज खरसाङमा दार्जीलिङ र कालेबुङ जिल्लाको लागि प्रशासनिक बैठक गरिन्। खरसाङको नयाँ बजारस्थित टाउन कम्युनिटी हलमा सम्पन्न उक्त बैठकमा दार्जीलिङ र कालेबुङ जिल्लाका जिल्लाधिकारीहरू, पुलिस अधीक्षकहरू, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा, गोजमुमो महासचिव रोशन गिरी, हिल तृणमूलबाट एलबी राई र शान्ता छेत्री, कालेबुङका विधायक रुदेन सादा लेप्चा, अमरसिंह राई लगायत अन्यहरू उपस्थित थिए। उक्त बैठकमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले जीटीएको लागि दार्जीलिङ र कालेबुङका जिल्ला शासकहरूलाई जिम्मेवारी दिएका छन्।

कोविड साम्य भएपछि साथै नयाँ भोटर लिस्ट आएपछि जीटीएको चुनाउ घोषणा हुने भएको छ। यसको लागि काली पूजापछि नोभेम्बर-दिसम्बरमा पुन: दार्जीलिङ भ्रमणमा आएर घोषणा गर्ने बताइएको छ। मुख्यमन्त्रीले पहाड़को विकासको लागि अनित थापा, रोशन गिरी, गौतम देव, अमरसिंह राई सबै मिलेर बस्नु पर्ने अनि सबै मिलेर विकासको लागि स्टेयरिङ कमिटी गठन गरेर पहाड़को विकासको लागि योजना बनाउनु पर्ने आह्वान गरिन्। उनले पहाड़को लागि स्थायी राजनैतिक समाधान गरिदिने र यसको लागि सुझाउ पठाउनु पर्ने आह्वान पनि गरेकी छन्।

मुख्यमन्त्रीको कुरालाई अनित थापा र रोशन गिरीले पनि सहमति जनाएका छन्। यस प्रशासनिक बैठकको शुरुमा दार्जीलिङ र कालेबुङ जिल्लामा तयार भएको विभिन्न छवटा प्रोजेक्टहरू विषयमा चर्चा गरिएको थियो। मुख्यमन्त्री ममताले दार्जीलिङ, कालेबुङ, खरसाङ र मिरिकमा जय हिन्द भवनको निर्माणको लागि पहल गर्ने निर्देशन दिइन् भने पहाड़को टी, टुरिज्ममाथि के कस्तो प्रकारले विकासमूलक कार्यहरू गरिनुपर्छ भनी विषयमा चर्चा गरिन्। उनले दार्जीलिङमा आईटी पार्क बनाउन सकिने कारण यसको लागि दार्जीलिङ सुन्दर स्थान रहेको जनाइन्।

पहाड़को विकास गरेर लानुको लागि सबै मिलेर बस्नु पर्ने र विकासको योजनाहरू तयार पारेर पठाउनु पर्ने पनि निर्देशन दिइन्। उनले पहाड़मा म शान्ति चाहान्छु तर अशान्त पहाड़ हेर्न चाहँदिन, त्यसैले सबैजना मिलेर बस्नुपर्छ भनी बताइन्। मुख्यमन्त्रीले नोभेम्बर दिसम्बरमा पुन: पहाड़ आउने बताउँदै पहाड़मा रहेको 7 हजार ऐकरको जमीनलाई उद्योगहरूको लागि प्रयोग गर्न सकिने, कृषि उत्पादनको लागि कार्य गर्न सकिने बताइन्। आजको प्रशासनिक बैठकमा मुख्यमन्त्रीले पहाड़मा पानीको समस्या छ भन्दै दार्जीलिङ र कालेबुङ जिल्लाको प्रत्येक क्षेत्रको घरहरूमा पानी पुग्नु पर्ने निर्देशन पनि दिइन्।

सरकारको तर्फबाट हिमुललाई सरकारी सहायता प्रदान गरिने, दार्जीलिङमा वुलन उद्योगको शुरुवात् गर्ने र चिया अक्शन सेन्टर निर्माण विषयमा चर्चा गरियो। यस बैठकमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नयाँ पार्टी गठन गरेकोमा अनित थापालाई मुख्यमन्त्रीले बधाई दिइन् भने अनित थापाको कार्यहरूलाई सराहना पनि गरिन्। बैठकमा भारतीय प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापाले हिल युनिभर्सिटी, पहाड़मा शिक्षक नियुक्तिको लागि रिजनल एसएससी लागू गराउनु पर्ने विषयलाई उठान गरेका थिए।

अर्कोतिर गोजमुमोको महासचिव रोशन गिरीले पहाड़मा पञ्चायत चुनाउ हुनु पर्ने र एनएच 10 को विकल्पको लागि पन्बु भएर रोड चालु गरिनु पर्ने विषयमा माग राखे। त्यसरी नै अमरसिंह राईले बिजुली बत्तीको बिल, पहाड़को फरेस्ट भिलेजहरूलाई रिभिन्यु भिलेजहरूमा परिणत गरिनु पर्ने विषय उठान गरेका थिए।

बैठकमा कालेबुङका विधायक रुदेन सादा लेप्चाले अविरल वर्षाको कारण भएको क्षय क्षतिमा सहयोग गरिनु पर्ने र पञ्चायत चुनाउ पनि हुनु पर्ने विषयमा कुरा उठाएका थिए। यस प्रशासनिक बैठकमा कोविडको रोकथाम विषयमा पनि चर्चा गरियो भने दार्जीलिङ र कालेबुङ जिल्लामा कोविडको वर्तमान स्थिति विषयमा पनि जानकारी लिइन्। मुख्यमन्त्रीले कोविड रोकथामको लागि विशेष सिलगढी क्षेत्रमा मास्कहरू लगाउनु पर्ने विषयमा ध्यान दिने निर्देशन दिइन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी मंगलबार अपरान्ह्र 2:30 बजी खरसाङको टाउन हलमा उपस्थित भइन् भने उनले विभिन्न प्रशासनिक अधिकारीहरूसित लगभग डेढ़ घण्टासम्म बैठक गरी 4 बजी बैठक सकेर खरसाङको गिद्ध पहाड़स्थित गेस्ट हाउसमा प्रस्थान भइन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande