विधानसभामा उठ्यो रेजिस्ट्रेशन अफ् कम्पनीज एक्ट, 1961 को मुद्दा
रेजिस्ट्रेशन अफ् कम्पनीज एक्ट


गान्तोक, 07 दिसम्बर (हि.स.)। विधायक डीआर थापाले रेजिस्ट्रेशन अफ् कम्पनीज (सिक्किम) एक्ट, 1961 रद्द भइसकेको र नयॉं कम्पनीज एक्ट पनि लागू नभएको हुॅंदा विशेषगरी राज्यका उद्यमीहरूमा अहिले भ्रमको स्थिति उत्पन्न भएको बताएका छन्। विधायक थापाले सिक्किम विधानसभाको आज दोस्रो दिन सदनमा प्रश्नकाल अवधि यस्तो प्रश्न गरेका हुन्।

उनले रेजिस्ट्रेशन अफ् कम्पनीज एक्ट, 1961 रद्द भइसकेको छ भने सिक्किममा नयॉं कम्पनीज एक्ट पनि लागू भएको छैन भनी बताए। राज्यमा अहिले कम्पनी पञ्जीकरणको निम्ति कुनै सक्रिय कानून नभएपछि विशेषगरी राज्यका उद्यमीहरूमा भ्रमको स्थिति रहेको उनले बताए। विधायक थापाले सिक्किम बाहिर गएर कम्पनी पञ्जीकरण गर्नुपर्ने स्थितिका कारण राज्यले धेरै नोकसानी पनि झेल्नु परिरहेको बताए।

यसको जवाफमा वाणिज्य एवं उद्योग विभागका प्रभारी मन्त्री बीएस पन्तले यो कानून लोक सभा र राज्य सभामा पारित हुॅंदा पूर्व सरकारका सांसदहरू थिए भनी सदनमा जानकारी गराए। अर्कोतिर, उनले विधायक थापालाई पुरानो कानूनहरू रद्द हुने प्रश्नै उठ्दैन भनी जानकारी गराए। उनले स्थानीय हित र जनताको प्रगतिशील हितलाई ध्यानमा राखेर न्यूनतम संशोधनमाथि विचार गरिने छ र वृहत नियम बनाइने बताए।

उनले राज्यमा औद्योगिक न्यायाधिकरणको स्थापना गरिने बताए जसद्वारा सिक्किमका शिक्षित वकीलहरूलाई राज्यका मानिसहरूको रक्षा गर्न र मुद्दाहरूको हल गर्न तथा उचित अनि निष्पक्ष आदेश प्राप्त गर्न अवसर पाउने बताए। उनले 1961 अधिनियममा प्रस्तावित संशोधन र यसको प्रारूपमा वृहत नियमहरू छानबिनको अधीनमा हुनेछ भनी बताए।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande