गान्तोक, 01 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पना अनुरूप खाम्दोङ सिङ्ताम समष्टि अन्तर्गत राब्दाङ गाउँलाई निशुल्कः वाइफाइ गाउँका रूपमा घोषित गरिएको छ। समष्टि विधायक तथा मन्त्री एनबी दाहालले आज यसको विधिवत उद्घाटन गरे। आज सम्पन्न उद्घाटन कार्यक्रम राज्यलाई प्राविधिक विकासमा अघि बढ़ाउने मुख्यमन्त्री प्रेमसिंह तामाङको व्यापक परिकल्पनाको कार्यान्वयनका रूपमा झल्किएको छ। उक्त जानकारी एसकेएमले आज जारी एक प्रेस विज्ञप्तिमा गराएको छ।
मुख्यमन्त्रीको गतिशील नेतृत्वमा नि: शुल्क वाइफाइ पहलले विशेष गरी दुर्गम क्षेत्रमा शिक्षा, व्यवसाय र सञ्चारमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ। यस पहल अन्तर्गत क्षेत्रको खाम्दोङ सिङ्ताम समष्टिको राब्दाङ, राज्यको पहिलो वाइफाइ गाउँ बनेको छ। गाउँलाई फाइदा पुर्याउने यस किसिमको पहलले स्थानीय बासिन्दाहरूलाई निर्बाध इन्टरनेट पहुँच प्रदान गर्दै डिजिटल विभाजनलाई जोड्न र प्रगतिका लागि नयाँ अवसरहरू खोल्न मद्दत गर्ने अपेक्षा राखिएको छ। यसको राउटर सबै घरमा जडान गरेर लाभ प्रदान गरिनेछ।
उद्घाटन कार्यक्रममा मन्त्री दाहालले निशुल्कः वाइफाइ गाउँ बनेकामा स्थानीय राब्दाङवासीलाई बधाई दिए। उनले गत चुनाउमा आफूलाई बहुमतका साथ विजय गराएकोमा आफ्नो तर्फबाट गाउँका जनतालाई निशुल्कः वाइफाइ उपलब्ध गराएको बताए। सरकारले बिजुली, पानी, सड़क, शिक्षा, स्वास्थ्य आदि जस्ता महत्तवपूर्ण कुराहरूलाई ध्यानमा राखेर काम गर्ने जनाउँदै खेलकुद तथा अन्य क्षेत्रमा रूची राख्नेहरूलाई मुख्यमन्त्रीद्वारा सहयोग गर्ने कार्य भइरहेको र प्रतिभाहरूलाई सबैले सहयोग गरेर अघि बढाउनुपर्ने विचार व्यक्त गरे।
आफू विधायक रहुन्जेलसम्म यस समष्टिका जनताको पक्षमा समर्पित भएर कार्य गर्ने प्रतिबद्धता जाहेर गरे। उनले प्रगतिशील कृषकहरूलाई पनि भरपूर सहयोग गर्ने बताए। यहाँका विद्यार्थीहरूका लागि यसपालि निशुल्कः कोचिङ गराइने घोषणा गरे। उनले जल जीवन मिसनको काम गर्ने ठेकेदारहरूले गुणस्तरीय कार्य गर्नुपर्ने सुझाउ दिँदै यदि काम राम्रो नभए आफू स्वयम् आएर स्थलगत निरीक्षण गरी जाँच गर्ने कड़ा चेताउनी दिए। आफू विधायक रहँदासम्म समष्टिलाई विकासको गतिमा अघि बढाउने जनाउँदै जनताले पनि आफूलाई साथ दिएर सुझाउ दिने आग्रहका साथ मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा परिकल्पित सुनौलो अनि समृद्ध सिक्किमको परिकल्पनालाई साकार तुल्याउन सबै अघि आउनुपर्ने कुरामा जोड़ दिए।
कार्यक्रममा डा. एलपी शर्माले वाइफाइ गाउँ घोषित हुँदा यहाँका नागरिकलाई पुग्ने फाइदाहरूबारे अवगत गराउँदै यसलाई सदुपयोग गर्नका लागि अप्नाइनुपर्ने कुराहरूबारे विस्तृत जानकारी गराए। समारोहलाई डा. विकास भट्टाराई, नरेश छेत्री, अनि योगेन राईले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा मन्त्री दाहाल सहित उनकी धर्मपत्नी सविना राई, पूर्व सचिव शर्मिला राई, सिक्किम स्टेट कोप्रेटिभ युनियनका अध्यक्ष डा. मङ्गलजीत राई, पूर्व युवा अध्यक्ष लाक्पा मोक्तान, पूर्व युवा संयोजक सहदेव शर्मा, पूर्व विधायक श्याम प्रधान, जसलाल प्रधान आदि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल