11औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिता 71औं माघे संक्रान्ति मेलाको मुख्य आकर्षण
11औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिता


नाम्ची, 02 जनवरी (हि.स.)। आगामी 14 जनवरी, 2026 देखि जोरथाङको खेल मैदानमा 71औं माघे संक्रान्ति मेला शुरू भइरहेको छ। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले माघे संक्रान्ति मेलाको उद्घाटन गर्नेछन्। विविध कार्यक्रमहरूका साथ आयोजना गरिने यस माघे संक्रान्ति मेलामा 11औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिता मुख्य आकर्षण रहनेछ।

जोरथाङमा आज आयोजित एक पत्रकार सम्मेलनमा क्षेत्र विधायक एवं माघे संक्रान्ति मेलाका प्रमुख संरक्षक मदन सिन्चुरीले माघे संक्रान्ति मेलालाई अन्तरराष्ट्रिय मञ्चहरूमा मान्यता दिलाउने मुख्यमन्त्री प्रेमसिंह तामाङ दृष्टिकोण दोहोऱ्याए। उनले समारोहको सफलता सुनिश्चित गर्नका लागि आयोजक समितिले सबै लाइन विभागका अधिकारीहरूसॅंग समन्वय राखेर काम गरिरहेको जानकारी गराए।

विधायक सिन्चुरीले आगामी 14 जनवरीदेखि माघे संक्रान्ति मेला शुरू हुने जानकारी गराए। उनले 15 जनवरीका दिन युवा पुस्तालाई समर्पित रहने अवगत गराउॅंदै उक्त दिन सॉंझ विशेष सांस्कृतिक कार्यक्रम राखिएको बताए। उनले मेला अवधि बलीवुडका प्रसिद्ध गायक शान, आशिष राणा (लाहुरे), जोन राई, पूर्ण राई र दाजुभाई आदि जस्ता कलाकारहरूले आफ्नो प्रस्तुति दिने बताए। उनले आगामी माघे संक्रान्ति मेलामा सबैलाई न्यानो निमन्त्रणा गर्दै सौहार्दपूर्ण र शान्तिपूर्ण उत्सव मनाउन अपील गरेका छन्।

जोरथाङ फुटबल एसोसिएशन र 11औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिता आयोजक समितिका महासचिव रूबेन सुब्बाले यस पटक प्रतियोगितामा कूल 15 दलले भाग लिइरहेको जानकारी गराए। उनले यस प्रतियोगिता अन्तर्गत आगामी 5 जनवरीदेखि खेल शुरू हुने र 22 जनवरीका दिन फाइनल खेलाइने बताए। यस प्रतियोगिताका विजेता दललाई 20 लाख रूपियॉं र उप विजेता दललाई 10 लाख रूपियॉं प्रदान गरिने छ। यस अतिरिक्त, म्यान अफ् द टुर्नामेन्टको रूपमा एउटा वाहन (टाटा टियागो) प्रदान गरिने उनले बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande