खरसाङ नगरपालिकाले फेरि अवैध फुटपाथ दोकानहरु हटायो 
खरसाङ नगरपालिकाले फेरि अवैध फुटपाथ दोकानहरु हटायो


खरसाङ, 20 नोभेम्बर (हि.स.)। खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारमा अवैध तरिकाले फुटपाथतरि राखिएका दोकानहरु आज फेरि हटाउने कार्य गरेको छ। खरसाङ बजारमा रहेको फुटपाथतिर साथै मानिसहरु हिँड्ने बाटोतिर राखिएको दोकानहरु हटाएको छ। खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधानको अगुवाईमा आज बजारमा फुटपाथतिर राखिएका दोकानहरु हटाइएको छ।‌

नगरपालिका ऐन अनुसार, केही महिनाअघि खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारमा रहेका अवैध दोकानहरु हटाउने कार्य गरिएको थियो भने फुटपाथ दोकानेहरुको अनुरोधमा दशैं, तिहार र छठ पूजाको अवसरमा केही छुट दिइएको थियो।‌ तर फेरि फुटपाथहरुतिर मानिसहरु हिँड्ने बाटोमा दोकानहरू राखिएको भन्दै खरसाङ नगरपालिकाले आज हटाउने कार्य गरेको छ।‌ यसको साथै फुटपाथ दोकानरुलाई स्थायी रुपमा भवन नबनेसम्म खरसाङको हाट बजार क्षेत्रमा दोकानहरु राख्ने अनुमति दिइएको बताइएको छ।‌

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानले खरसाङ नगरपालिकाले नगरपालिका ऐन अनुसार नै बजारको फुटपाथतिर रहेका दोकानहरु हटाउने कार्य गरेको र यसमा कसैलाई पनि उच्छेद गर्न चाहेको होइन भनी स्पष्ट पारे।जनतालाई सुविधा होस् भनेर सरकारी आदेश पालन गर्दै यस्ता दोकानहरू हटाइएको उनले बताए।

उनले भने, दोकानेहरुकै अनुरोधमा दशैं, तिहार र छठ पूजासम्म केही छुट दिइएको थियो, तर अब सबै पर्वहरू सकिएको छ। हामीले सूचित पनि गरेको थियौं, तर कतिजनाले अटेरी गरेकाले दोकानहरू हटाउने कार्य गरिएको हो। उनले नगरपालिका कसैको रोजीरोटी खोस्न चाहॅंदैन, तर जनताको सुविधाको लागि फुटपाथतिर राखिएको दोकानहरू हटाइएको हो भनी बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande